ज्यामिरेमा एम्बुलेन्सको ठक्करबाट भारतीय नागरिकको मृत्यु

चितवन, माघ २९ । खैरहनीस्थित ज्यामिरेमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ। सोमबार बिहान करिव १ बजे एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका भारत बिहारका अन्दाजी ५० वर्षका विद्यानन्द झाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–१ ज्यामिरेमा पूर्वबाट आउँदै गरेको ना२च ४१२६ नम्बरको एम्बुलेन्सले उनलाई ठक्कर दिएको थियो। जनकपुरबाट काठमाडौं जाँदै गरेको ना६ख १२३३ नम्बरको बसमा सवार यात्रु झा गाडी रोकेर पिसाब फेर्न जान लाग्दा एम्बुलेन्सले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ।

बाटो काटेर जाने क्रममा एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिहान करिव साढे २ बजे भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ। एम्बुलेन्स चालक प्रहरी नियन्त्रणमा छन्।