फुड फेष्टिवलको उद्धघाटन गर्दै पूर्व अर्थमन्त्री पाण्डेले भने विमानस्थल बढाउन सेनाको गण हटाऊ (भिडियो)

चितवन माघ २८ । चितवनको पर्यटकिय क्षेत्र सौराहामा १२ औं सौराहा फुड फेष्टिवल आईतवार सुरु भएको छ ।
प्रेम दिवसको अवसर पारेर रेष्टुरेन्ट एण्ड बार एसोसियसन नेपाल –क्षेत्रीय रेवान ) सौराहाको आयोजनामा सुरु भएको महोत्सवको एक भव्य समारोहका बीच पुर्व अर्थमन्त्री एवंम् चितवन क्षेत्र नम्वर १ का प्रतिनिधी सभा सदस्य सुरेन्द्र पाण्डेले उद्घाटन गरे ।
सो अवसरमा वोल्दै प्रतिनिधी सभा सदस्य पाण्डेले भरतपुर विमानस्थलको क्षेत्र वढाउन सके चितवनमा पर्यटकको संंख्या वढ्ने वताए ।
विमानस्थल नजिकै रहेको दि फेमस दल गणलाई शक्तिखोर स्थानान्तरण गरेर गण रहेको स्थान सवैलाई विमानस्थलको रुपमा विस्तार गर्नु पर्ने उनको भनाई थियो । सौराहामा संचालित खाना महोत्सव र हात्ती महोत्सवले सौराहा र चितवनलाई अन्तराष्ट्रियस्तरमा चिनाउन सफल भएको पुर्वअर्थमन्त्री पाण्डेले वताए ।


चितवन क्षेत्र नम्वर एक ख प्रदेश सभा सदस्य कृष्ण खनालले समय अनुसार व्यवसाय संचालन गर्नु पर्ने भन्दै गुणस्तरीय सेवा प्रदान गर्नु पर्ने वताए ।
रत्ननगर नगरपालिकाका मेयर नारायण वनले सौराहाको पहिचानलाई जोगाई राख्न ग्रीनरी, यहाँ स्थापित होटल एउटै आकार र एउटै रंगको वनाउनु पर्ने वताए ।
मेयर वनले सौराहामा पर्यटन प्रर्वद्धन गर्न यहाँका व्यवसायीहरुसंग हातेमाले गर्न नगरपालिका तयार रहेको वताए ।
रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी, रेवान केन्द्रिय उपाध्यक्ष गोपीवहादुर भट्टराई,रेवान पोखराका अध्यक्ष चौवहादुर गुरुङ, रेवान सौराहाका संस्थापक अध्यक्ष वलराम दाहाल, निवर्तमान अध्यक्ष राजन भट्ट,रेवान महिला समुहकी अध्यक्ष माला दाहाल, क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरे, बाघमारा सामुदायिक वनका अध्यक्ष विपी चौधरी, महोत्सवका संयोजक कपिल रेग्मी लगायतले मन्तव्य राखेका थिए ।
महोत्सव उद्घाटन अघि सौराहाको राप्ती किनार(ड्याम साईड) बाट विभिन्न जातजाति, संघसंस्थाको पहिचान झल्कने झाँकीसहितको शोभायात्रा निकालिएको थियो ।
महोत्सवमा करिव ७० वटा स्टल राखिने छ । जसमा खानाका मात्रै करिव ५० वटा स्टल रहेका छन् यस पटक विषेश गरी थारु समुदाय र नेवार समुदायको खानाका परिकारका स्टल छन् ।
खाना महोत्सवको अन्य दिन रु ५० र विद्यार्थीलाई रु २५ भएपनि प्रेम दिवसको दिन रु १०० को टिकटको व्यवस्था गरिएको छ । महोत्सवमा यस वर्ष थप आकर्षणका लागि हात्ती वनभोज कार्यक्रमको आयोजना गर्न लागिएको रेवानका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए ।
बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति र चित्रसेन मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिको सयुक्त आयोजनामा प्रेम दिवसको दिन फागुन २ गते यहाँ रहेका निजी र सरकारी हात्तीहरुलाई वनभोजमा सहभागी गराईनेछ ।
महोत्सवको प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ । रेवान सौराहाले प्रेम दिवसको अवसर पारेर प्रत्येक वर्ष खाना महोत्सव गर्दै आएको छ ।