अपराधिक घटना नियन्त्रणको लागि आकस्मिक चेकजाँच

आनन्द पोखरेल
चितवन, २८ माघ । जिल्ला प्रहरी कार्यालय चितवनले अपराध न्यूनीकरण र रोकथाम गर्न तथा अदालतबाट सजाय पाएर फरार रहेका व्यक्तिहरु खोजी गर्नको लागि आकस्मिक चेकजाँच सञ्चालन गरेको छ । पछिल्लो समय विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रहेका व्यक्तिहरु चितवनबाट पक्राउ पर्न थालेपछि प्रहरीले आकस्मिक चेकजाँच सञ्चालन गरेको जनाएको छ ।
नेपालको मध्य भागमा पर्ने चितवन पछिल्लो समय अपराधिक कृयाकलाप गर्ने व्यक्तिहरुको अखडाको रुपमा देखिन थालेपछि प्रहरीले ‘सरप्राइज चेकिङ’ सुरु गरेको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपक थापा बताउँछन् । पछिल्ला केही घटनाले राजधानी लगायत जिल्लाका अन्य भागमा अपराधिक क्रियाकलाप गरेपछि लुक्ने जिल्लाको रुपमा समेत चितवन चिनिएको छ । प्रहरीले सञ्चालन गरेको सरप्राइज चेकजाँचका क्रममा प्रत्येक दिन जिल्लाका विभिन्न १३ स्थानमा सवारी साधन चेक जाँच गरिदै आएको थापाले बताए ।
‘विभिन्न जिल्लामा अपराधिक कृयाकलापमा गरेर फरार अपराधीहरु लुकिछिपी बस्न सक्ने अवस्थालाई मध्यनजर गरेर प्रहरी प्रधान कार्यालयबाट अपराध अनुसन्धान व्यूरो, लागु औषध व्यूरो, विशेष व्यूरो र प्रदेश प्रहरी कार्यालयबाट समन्वय गरेर विशेष प्रहरी परिचालन गरेका छौँ’ थापाले भने, –‘जस कारण अहिले चितवन प्रहरीले धेरै अपराधी र अभियुक्त पक्राउ गरेर थुनामा पठाउन सफल भएको छ, यसकै सफलता स्वरुप केही दिन अगाडि टिके डाँका समेत पक्राउ गर्न सफल भयौँ ।’ नियन्त्रणमा लिनको लागि अन्तिम बल प्रयोग गर्नसक्ने सम्मको अधिकार दिएर सरप्राइज चेकजाँचमा टोली परिचालन गरिएको थापाले बताए ।
सरप्राइज चेकजाँचको ‘अप्रेशन कमाण्डर’को रुपमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकाललाई तोकिएको र उनले बनाएको योजना अनुसार नै जिल्लाभरीमा सरप्राइज चेकजाँच गरिएको थापाले बताए । उक्त सरप्राइज चेकजाँच टोलीमा ट्राफिक प्रहरी, प्रहरी र विशेष टोली समेत खटाइने थापाको भनाइ छ । अबैध हातहतियार, लागु औषध, फरार अभियुक्त र अपराधी पत्ता लगाउने र कानुनी कारबाही गर्दै समाजमा शान्ति सुव्यवस्था र अमनचयन गराउने सरप्राइज चेकजाँचको मुख्य उद्देश्य भएको थापाले बताए ।
चितवनलाई अपराध मुक्त बनाउनको लागि नेपाल प्रहरी अग्रसर हुँदै सरप्राइज चेकजाँचको अवधारणा ल्याएको अप्रेशन कमाण्डर समेत रहेका डिएसपी प्रभुप्रसाद ढकालले बताए । आफूहरुको अभियानमा माथिल्लो निकाय, स्थानीय तहका साथै सर्वसाधारणबाट समेत साथ मिलेको ढकालले प्रतिकृया दिए । चितवन जिल्लाभरी अपराधिक घटना नहुन् र अन्य जिल्लाबाट गुण्डागर्दी गरेर आएका व्यक्तिहरु चितवनमा बस्न नसकुन् भनेर आकस्मिक तरिकाले जिल्लाका फरक फरक स्थानमा चेकजाँचलाई प्राथमिकता दिइएको ढकालको भनाइ छ ।
‘आकस्मिक चेकिङको क्रममा साना हातहतियार बोकेर हिँड्ने, लागु औषध बोकेर हिँड्ने तथा सवारी साधनको आवश्यक कागजपत्र नबोकी हिँड्ने व्यक्ति लक्षित गरेका छौँ’ ढकालले भने, –‘यो चेकजाँच हामीले चितवनका ग्रामीण क्षेत्रमा समेत हामीले सञ्चालन गरेका छौँ ।’ चितवनको मुख्य राजमार्ग र भित्रि सडकहरुलाई केन्द्रित गरेर चेकजाँचलाई अगाडि बढाइरहेको ढकालले बताए । जिल्ला प्रहरीले कार्यालय चितवनले लिएको सुरक्षित चितवन अभियानलाई साकार पार्नको लागि यो अभियान सञ्चालन गरिएको ढकालको भनाइ छ ।
विशेष चेकजाँचको क्रममा निर्माण व्यवसायी सरद गौचन हत्यामा संलग्न रहेका व्यक्ति, मोटरसाइकल चोरीको गिरोह तथा अन्य व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । लागू औषध तथा अन्य कारोबारका लागि चितवन ट्रान्जिट बन्दै गरेको अवस्थामा आकस्मिक चेकजाँचले चितवनमा शान्ति सुरक्षा कायम गर्न सहज हुने स्थानीयले विस्वास गरेका छन् ।

Promise Education Consultancy