मुवाँथाई तथा वृहत तेकवान्दो प्रतियोगिताको तयारी पुरा

चितवन, २७ माघ । स्वर्गीय प्रकाश दाहालको स्मृतिमा आयोजना गर्न लागिएको राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी पुरा भएको छ । प्रतियोगिता गर्नको लागि आवश्यक पर्ने रिङ समेत निर्माण भइसकेको छ ।
आयोजकले शनिबार पत्रकार सम्मेलन गर्दै आइतबारदेखि हुने दुई दिने अल नेपाल मुवाँथाई तथा वृहत तेकवान्दो प्रतियोगिताको तयारी पुरा भएको जनाएको हो । अल मार्शल आर्ट एकेडेमी चितवनको आयोजनामा भरतपुरको गेष्ट हाउस चौरमा हुने प्रतियोगितामा मुवाँथाई तर्फ चितवनका १२ जना तथा अन्य जिल्लका ३६ जना खेलाडी सहभागी हुने अध्यक्ष उत्तम गुरुङले जानकारी दिए । थाइल्याण्डमा प्रख्यात बक्सिङ अन्तर्गतको मुवाँथाई प्रतियोगिताको सिनियर समूहमा प्रतिस्पर्धा हुन लागेको हो ।

२२ वटा जिल्लाबाट पुरुष तथा महिला खेलाडी सहभागी मुवाँथाई प्रतियोगितामा पुरुषको आठ वटा तौल समूह महिलाको दुई वटा तौल समूहमा प्रतिस्पर्धा हुने गुरुङले बताए । प्रत्येक तौल समूहमा पहिलो हुने खेलाडीलाई १० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा दोस्रो हुने खेलाडीलाई ६ हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र तथा तेस्रो हुने खेलाडीहरुलाई चार हजार रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ ।
त्यस्तै, तेकवान्दो प्रतियोगितामा भने चितवन र नवलपरासीका ३० वटा डोजाङबाट करिब साढे दुई सय खेलाडी सहभागी हुने जनाइएको छ । तेकवान्दो तर्फ तौल समूहमा प्रतिस्पर्धा गराइने राष्ट्रिय तेकवान्दो संघ चितवनका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिए । तेकवान्दोमा विजयी हुने खेलाडीलाई मेडल र प्रमाण पत्र प्रदान गरिनुका साथै पहिलो, दोस्रो र तेस्रो हुने डोजाङलाई ट्रफी प्रदान गरिनेछ ।
दुई दिनसम्म सञ्चालन हुने अल नेपाल मुवाँथाई तथा वृहत तेकवान्दो प्रतियोगिताको उद्घाटन आइतबार दिउँसो १२ बजे नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नेछन् ।