भोजको ४० लाख बिरामीलाई

काठमाडौँ,२६ माघ । आफ्नो चेम्बरमा बिहेको निम्तो कार्ड आए/नआएकोमा न्यायाधीशहरूले सोधीखोजी गरे। कानुन व्यवसायीका ‘ल फर्म’ मा पनि त्यस्तै गाइँगुइँ चल्यो। तर पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ कानुन व्यवसायी सुशीलकुमार पन्त भने यो सबै थाहा पाएर पनि मौन बसिरहे। साथीभाइ र इष्टमित्रले बिहेभोजमा गरेको खर्चबाट विरक्तिएका उनले आफ्नै छोरा-बुहारीको बिहेभोजलाई लिएर भइरहेको खासखुस नसुनेजस्तो गरी टारिरहे।
अस्ट्रेलिया बस्दै आएका छोराको बिहेमा भोजभतेर गरेर लाखौं रकम खर्च गर्नुभन्दा त्यसको सार्थक उपयोग गर्ने सोच उनले बनाइसकेका थिए। त्यसैले पनि साथीभाइ र इष्टमित्रका अपेक्षाको सम्बोधन गर्न रुचि देखाएनन्।
उनले सामान्य रूपमै छोराको बिहे गरे र भोज पनि त्यसैगरी टारे। अत्यन्तै निकटका इष्टमित्रबाहेक कसैलाई बोलाएनन्। बरु भोजमा खर्च गर्न छुट्याएको ४० लाख रुपैयाँ विपन्न बिरामीको सहयोगार्थ दुई वटा संस्थालाई हस्तान्तरण गरे। अनुत्पादक खर्च गर्नु साटो त्यसलाई रचनात्मक काममा उपयोग गरूँ भन्ने चाहना र छोरा-बुहारीलाई पनि मातृभूमिप्रति स्नेह बढोस् भन्ने कामना पूरा गर्न उनले दुई संस्थालाई २०/२० लाख रुपैयाँ दिने निर्णय गरेका हुन्। ‘भोजभतेरमा खर्च गरेर रवाफ देखाउने जुन संस्कार बढिरहेको छ, त्यसले अझ बढावा नपाओस् भन्ने मेरो चाहना हो’, उनले भने।
वरिष्ठ अधिवक्ता पन्त र श्रीमती कुमुदाले छोरा सुदीज्ञ पन्त र बुहारी सविना पोखरेलको बिहेभोजलाई छुट्याएको ४० लाख रुपैयाँको चेक बिहीबार सर्वोच्चका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीलगायतलाई साक्षी राखेर नेपाल क्यान्सर केयर र पुण्यार्जन फाउन्डेसनलाई हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा न्यायाधीश जोशीले उपनिषद् र संस्कृतका श्लोक उद्धृत गर्दै नवविवाहित जोडीलाई बधाई दिए र पन्तको सराहना गरे। ‘जीवन भनेको विवेकले खेलिने करुणाको लठ्ठी हो’, उनले भने, ‘करुणाका लागि योगदान गर्दै आएका दुई संस्थालाई सहयोग गर्नु उत्तम कार्य हो।’
भोजभतेरमा खर्च हुने फजुल रकम परोपकारमा लगाएर समाजलाई अघि बढाउन प्रेरित गरेको उनले बताए। आफन्तले आफन्तकै खुट्टा तान्ने प्रवृत्ति रहेकोमा व्यंग्य गर्दै जोशीले थपे, ‘खुट्टा तान्ने प्रवृत्ति त्याग्नुपर्छ। परोपकारजन्य कार्यको चेतना विस्तार गर्नुपर्छ।’आजको अन्नपुर्णपोष्टमा खबर छ ।