गुम्बाको उद्घाटन आउन प्रचण्ड आउने

चितवन, २५ माघ । भरतपुरमा रहेको महाबौद्ध गुम्बा उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको छ । बौद्ध धर्म सेवा समिति भरतपुरले बिहीबार गुम्बा परिसरमा पत्रकार सम्मेलन गरेर तयारी बारे जानकारी गराएको हो ।
भरतपुर महानगरपालिका वडा नं.२ स्थित तीनखोलेमा रहेको गुम्बा वि.सं.२०४८ सालमै शिलान्यास भएको थियो । तर, आर्थिक अभावका कारण गुम्बा उद्घाटन हुन नसकेको समितिले जनाएको छ । विशुद्ध जनसहभागिताबाट निर्माण भएकोले समयमै उद्घाटन गर्न नसकिएको गुम्बाका पूर्व अध्यक्ष देवेन्द्र गुरूङले बताए ।
सरकारको तर्फबाट गुम्बा परिसरमा रहेका अन्य संघसंस्थालाई सहयोग गरे पनि गुम्बाको लागि अहिलेसम्म सहयोग नगरेको उनले गुनासो गरे । निर्माण भएको लामो समयपछि अहिले बल्ल उद्घाटनको तयारीमा जुटेको समितिका अध्यक्ष ईमानबहादुर गुरूङले बताए । अहिले गुम्बा परिसर सरसफाइदेखि भवनको रंगरोगन गरिसकिएको छ ।
गुम्बाको चौघेरो टायल आच्छ्याएर आकर्षक बनाइएको छ । गुम्बाभित्र पनि रंगरोगन गरेर सजाइएको छ । बाहिरी भागमा पूरै तोरण लगाएर झकिझकाउ पारिएको छ । साँझ परेपछि झिलिमिली बत्ती बालेर उज्यालो पारिएको छ ।
करिब एक करोड २५ लाख रूपैयाँको लागतमा गुम्बा निर्माण भएको हो । विशुद्ध जनसहभागिता र गुम्बाले आयोजना गरेको पूजापाठबाट संकलित रकमले गुम्बा निर्माण गरिएको समितिले जनाएको छ । प्रशस्त आर्थिक स्रोत नहुँदा भवन निर्माण भएको लामो समयसम्म पनि उद्घाटन गर्न नसकिएको समितिका सल्लाहकार गजबहादुर गुरूङले बताए ।
गुम्बा उद्घाटन गर्न पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आउने कार्यक्रम रहेको छ । यसका साथै बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति ललितपुरको आयोजनामा २७ गतेबाटै गुम्बामा तीनदिने धर्म देशना कार्यक्रम आयोजना गरिने समितिले जनाएको छ । धर्मदेशनामा सहभागी भई कार्यक्रमलाई सफल पारिदिनको लागि सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई पनि अनुरोध गरिएको छ ।

Promise Education Consultancy