शुभकार्यहरुमा पञ्चेबाजा बजाउने प्रचलन हराउँदै

 

चितवन, २५ माघ । पछिल्लो समय आएर विवाह ब्रतबन्ध जस्ता शुभकार्यहरुमा पञ्चेबाजा बजाउने प्रचलन हराउँदै गएका छन् । पुर्खादेखि बाजा बजाएर गुजारा चलाउँदै आएका परिवारका नयाँ पुस्ताले बजा बजाउन ईच्छा नदेखाउँदा नेपालीको मौलिक बाजा बजाउने प्रचलन हराउँदै गएको हो । अहिलेका पुस्ताहरु पढेलेखेका भएका कारणले बाजा बजाउन लाज मान्दा समेत पञ्चेबाजा हराउन लागेको हो । केही वर्ष अगाडिसम्म विवाह ब्रतबन्ध जस्ता शुभकार्यका आरम्भ गर्दा पञ्चेबाजा बजाउने चलन थियो । सिमित जातिले मात्रै बजाउँदै आएको बाजा अहिले पुस्ता हस्तान्तरण नहुँदा लोप हुने अवस्थामा पुगेको छ । बाजा बजाउने काम स्थायी पेसा नभएकोले समेत संस्कृति हराउँदै गएको आँधिखोला गाउँपालिका स्याङ्जाका डिलबहादुर परियारले बताए ।

उसो त शुभकार्यमा विदेशी बजाहरुले स्थान पाउँदा समेत हाम्रा मौलिक बाजाहरु हराउँदै गएका हुन् । समाजमा अझै पनि कायम रहेको जातिय संस्कारका कारणले मौलिक बाजा हराउन थालेको बाजा बजाउँदै गुजारा चलाएका पुराना पुस्ताका व्यक्ति लालबहादुर परियारले बताए ।

धेरै समुदाय रहेको नेपालमा केही सिमित जातिले मात्रै बजाउँदै आएका मौलिक बाजाहरु लोपोन्मुख अवस्थामा पुगिसकेका छन् । केही शिक्षित युवाहरु भने आफ्नो पुख्र्यौली पेसालाई जोगाउँदै बाजा बजाउने सीप सिक्नको लागि अग्रजसँग हिँडेको आँधीखोला गाउँपालिका स्याङ्जाका युवा अर्जुन परियारको भनाइ छ ।

भावि पुस्तालाई हाम्रो लोक बाजा बुझाउनको लागि सङ्ग्रहालयमा जानुपर्ने अवस्था आउनु अगाडि नै यसको संरक्षणमा विशेष ध्यान दिनुपर्छ । सदियौँदेखि बजाउँदै आएका पञ्चेबाजा, नौमतिबाजा, धिमे बाजाजस्ता हाम्रा मौलिक संस्कृतिलाई जोगाउनको लागि सरकार र समुदाय चनाखो हुने दिन आएको छ ।