फिनल्याण्डको एउटा यस्तो द्वीप जहाँ महिलालाई मात्र जान अनुमति छ!

काठमाडौँ,२५ माघ । फिनल्याण्डमा एउटा यस्तो द्वीप छ जहाँ महिलालाई मात्र जान अनुमति रहेको छ ।पुरुषलाई प्रवेश गर्न प्रतिबन्ध रहेको सुपर शी नाम दिइएको द्वीपमा अमेरिकी लगानीकर्ताले विशेष रिसोर्ट बनाउँदै छन् ।

हेलसिंकी द्वीप समूहमा रहेको उक्त द्वीपमा भौतिक पूर्वाधार निर्माणको काम भइरहेको छ । निर्माण कार्य अन्तिम चरणमा पुगेको बताइएको छ ।

८।४ एकड क्षेत्रफलमा रहेको द्वीपमा आधुनिक स्पा, योगा कक्ष र खाना पकाउने कलासम्बन्धी कक्षासमेत रहने बताइएको छ ।
एक पर्यटकीय क्षेत्रमा पुरुषहरु महिला आगन्तुकका लागि व्याकुल भएको आफूले पाएपछि महिलाका लागि मात्रै विशेष प्रकारको रिसोर्ट बनाउने सोच आएको अमेरिकी लगानीकर्ता क्रिश्टिना रोथले बताएकी छिन् ।

उनले पुरुषमाथि भेदभाव गर्ने आफ्नो कुनै नीति नरहेको पनि प्रष्ट पारिन् ।

सुरुमा अन्य मुलुकमै यस प्रकारको रिसोर्ट संचालनमा ल्याउने योजना आफूले बनाएर जग्गासमेत खरिद गरिसकेको भए पनि फिनल्याण्डसँगको आत्मीयताका कारण आफूले यो द्वीपमा नै निर्माण गर्ने निधो गरेको बताइन् ।

पुरुषका कारण सार्वजनिक स्थलमा खुलेर बस्न नपाउने तथा उकुसमुकस महसुस गर्ने महिलाका लागि यो स्थान छुट्टी मनाउनका लागि उपयुक्त हुने विश्वास रहेको उनी बताउँछिन् ।