गोष्ठिहरुमा चोरी गर्दै आएका ‘नक्कली पत्रकार’ प्रहरीको फन्दा

काठमाडौँ,२४ माघ।पत्रकार बनेर चोरी गर्ने एक जनालाई  प्रहरीले पक्राउ गरेको छ ।  ठुला होटलमा हुने गोष्ठि तथा तालिममा गएर चोरी गर्ने ललितपुर लेलेका ५२ वर्षिय हरिशरण केसीलाई प्रहरीले पक्राउ गरेको हो।

उनले गत माघ २० गते कान्तिपथस्थित  यलो पगोडा होटलबाट चोरी गरेको महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनीले बताए।

होटलमा संञ्चालित तालिमको लन्ज समयमा उनले तीन युवतीको झोला र मोबाइल चोरी गरेका हुन्। उनले ३२ हजार ५ सय रुपैयाँ बराबरको चोरी गरेको प्रहरीले जनाएको छ। उनी पत्रकार परिचय देखाएर कार्यक्रममा छिरेका थिए।

एसएसपी लोहनीका अनुसार एफएममार्फत उनले कुन होटलमा के कार्यक्रम हुँदैछ भन्ने जानकारी लिन्थे र पत्रकार बनेर गई चोरी गर्दथे। उनले अन्य कार्यक्रममा पनि चोरी गरेको हुनसक्ने प्रहरी आशंका छ।

कार्यक्रम स्थलमा ल्यापटप, मोबाइल र झोला उनले चोरी गर्दै आएका थिए। फायर साइड डेल्लीको नाममा बनाइएको कार्ड पनि प्रहरीले बरामद गरेको छ।