बाँदरमुढे घटनापीडितको लगत संकलन कार्य अन्तिम चरणमा

चितवन,२४ माघ।बाँदरमुढे घटनापीडितको लगत संकलन कार्य अन्तिम चरणमा पुगेको छ । लगत संकलन टोलीले अब केही दिनभित्रैमा संकलन कार्य अन्तिम चरणमा पुगेको बताएको छ ।आजको चितवनपोष्टमा खबर छ ।
माडीको बाँदरमुढे घटना पीडितको समस्या समाधान गर्न माघ १० गतेबाट लगत संकलन कार्य सुरू भएको हो । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालको संयोजकत्वमा गठित ‘बाँदरमुढे घटना समाधान समिति’ले लगत संकलन कार्य सुरू गरेको हो । समाधान समितिले घटनाका पीडितको घरघरमा पुगेर लगत संकलन कार्य गरिरहेको छ । समितिमा बाँदरमुढे घटना पीडित संघर्ष समितिका अध्यक्ष मुक्ति न्यौपानेसहित ४ जना र नगरपालिकाका तीन जना प्रतिनिधि छन् ।
‘घटनाका पीडितहरु वास्तविक के चाहन्छन् ? उनीहरुलाई नै भेटेर लगत उठाइरहेका छौँ । अब एकदुई दिनमा लगत संकलन कार्य सकिन्छ’ लगत संकलन टोलीका सहभागी मुक्ति न्यौपानेले भने । उनी बाँदरमुढे घटना पीडित संघर्ष समितिका अध्यक्षसमेत हुन् ।
लगत संकलन टोलीले माडीमा बसोबास गरेका घटनाका पीडितको घरघरमा पुगेर लगत संकलन गरिरहेको छ । पीडितहरुको मागको विषयमा बुझ्ने काम भएको न्यौपानेले बताए ।
माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल पनि लगत संकलन कार्यमा हिँडेका थिए । बाँदरमुढे घटनाका पीडित झापा, पोखरा र दमौलीमा पनि रहेका छन् । लगत संकलन टोलीले पीडितहरु जहाँजहाँ छन्, त्यहीँ गएर लगत उठाइरहेको छ ।
‘झापा, पोखरा, दमौलीलगायतका ठाउँहरुमा गएर लगत उठाइएको छ, अब भेटिन नसकेका केही घाइतेहरु मात्र बाँकी छन्’ बाँदरमुढे घटना पीडित संघर्ष समितिका अध्यक्ष मुक्ति न्यौपानेले भने । बाँदरमुढे घटनामा झापाका एकै घरका चार जनाको मृत्यु भएको थियो ।
‘सधैँ एउटै घाउ बल्झाइ राख्न हामीलाई पनि मन छैन । सन्चो बनाउन पर्छ’ बाँदरमुढे घटना पीडित संघर्ष समितिका अध्यक्ष मुक्ति न्यौपानेले भने, ‘पीडितका मागहरु लिएर हामी प्रदेश तथा केन्द्र सरकारसम्म पुग्छौँ । हेरौँ उनीहरुले हाम्रा माग पूरा गर्छन् कि गर्दैनन् ?’
घटनाका घाइते र मृतकका परिवारले शिक्षादीक्षा, रोजगार, जीवनवृत्ति, घटनास्थलमा पार्क, स्मारक, न्यायोचित परिपुरणको माग गरेका न्यौपानेले बताए । माडी नगरपालिकाले घटनास्थलमा पार्क र स्मारक बनाउने काममा सकारात्मक रहेको जनाएको छ ।
निर्वाचनअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पीडितपक्षसँग तीन बुँदै सहमति गरेका थिए । घटनाका पीडितसँग दाहालले मृतकका परिवारमध्ये काम गर्न सक्नेलाई स्वरोजगार, नसक्नेलाई जीवनवृत्ति बालबालिकालाई निःशुल्क उच्च शिक्षा, घाइतेको निःशुल्क औषधि उपचार, घटनास्थलमा स्मारक, नमूना संग्रहालय र पार्क बनाउने सहमति गरेका थिए । त्यही सहमतिअनुसार नै लगत संकलन गर्ने काम अघि बढेको हो ।
‘लगत संकलनपछि हामी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नेछौँ’ न्यौपानेले भने, ‘पीडितका माग कति प्रदेशले पूरा गर्ला कति केन्द्र सरकारले पूरा गर्ला, लगत संकलनपछि दबाब दिने काम अघि बढ्छ ।’
विसं २०६२ जेठ २३ गते चितवनको माडीस्थित बाँदरमुढे खोलामा तत्कालीन विद्रोही माओवादीले यात्रुबाहक बसमा बम विस्फोट गराएका थिए । विष्फोटमा ३८ जनाको मृत्यु र ७२ जना घाइते भएका थिए ।