शपथ नलिई राजपा सांसदद्वारा राजीनामा

काठमाडौँ,२४ माघ ।  प्रदेश ५ की राजपा सांसद बिना पन्तले राजीनामा दिएकी छिन् । पन्त रुपन्देहीबाट राजपाकी समानुपातिक सांसद निर्वाचित भएकी थिइन् । निर्वाचन आयोगले उनी निर्वाचित भएको घोषणा गरे पनि शपथ नै नलिई उनले पदबाट मंगलबार राजीनामा दिएकी हुन् । ७ माघमा शपथग्रहणका दिन उनी उपचारका क्रममा भारतको लखनउमा थिइन् । उनलाई सांसद बनाएकोमा पार्टीभित्र विवाद बढेपछि शपथ नै नलिई राजीनामा दिएकी हुन् ।आजको नयाँपत्रिकामा खबर छ।

‘स्वास्थ्य अवस्था’को कारण देखाउँदै राजीनामा
पन्त राष्ट्रिय जनता पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लकी सालाकी श्रीमती हुन् । अस्वस्थता तथा प्रदेश सदस्य बन्ने इच्छा नभएकाले राजीनामा नै दिने तहसम्म उनी पुगेको शुक्लले दाबी गरे । बिनाका श्रीमान् प्रेम शर्माले चिकित्सकले ‘टेन्सन हुने काम नगर्न’ सुझाब दिएकाले कुरियरमार्फत निर्वाचन आयोगमा राजीनामा पठाएको बताए । बिना पन्त अहिले पनि भारतमा उपचाररत रहेको उनले जानकारी दिए ।

पन्तलाई प्रदेश सभा सदस्य बनाएपछि राजपामा असन्तुष्टि बढेको थियो, जसका कारण उनी थप तनावमा थिइन् । तर, श्रीमान् प्रेमले पार्टीभित्र दबाब बढेको र दबाब झेल्नुपरेकोबारे केही बोलेनन् ।