सौराहा फुड फेष्टिवलको तयारी तीव्र,भ्यालेनटाईन डे मनाउन सौराहा उपयुक्त

रत्ननगर २३ माघ । रेष्टुरेन्ट एण्ड बार एसोसियसन नेपाल (क्षेत्रीय रेवान) सौराहाको आयोजना सौराहामा हुने १२ औं सौराहा फुड फेष्टिवलको तयारी तीव्र पारिएको छ । भ्यालेनटाईन डेको अवसर पारेर यही माघ २८ गतेदेखि फागुन ३ गते सम्म सञ्चालन हुने सो फेष्टिवल सम्पन्न गर्न स्टेल तथा स्टेज निर्माण,प्रचार प्रसार तथा स्वागत गेट निर्माणको काम तीब्र रुपमा भईरहेको रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए । रत्ननगर ७ स्थित सिसुवार चौरमा हुने फेष्टिवलमा करिव ७० वटा स्टल राख्ने तयारी छ । जसमा खानाका मात्रै करिव ५० वटा स्टल रहने रेवानका अध्यक्ष गिरीले बताए । यस पटक विषेश गरी थारु र नेवार समुदायको खानाका परिकारका स्टल रहनेछन् । स्वदेशी र विदेशी खानाका परिकारको समेत स्वाद चाख्न पाउने अध्यक्ष गिरीले जानकारी दिए । फेष्टिवलमा सवैका प्रकारका खानाका परिकार पाईने र एकै प्रकारका खानाहरु बढिमा दुई वटा स्टलमा मात्रै राख्न पाईने व्यवस्था मिलाईएको छ । फेष्टिवलको अन्य दिन रु ५० र विद्यार्थीलाई रु २५ भएपनि भ्यालेनटाइन डेको दिन रु १०० को टिकटको व्यवस्था गरिएको फेष्टिवलका संयोजक कपिल रेग्मीले जानकारी दिए । स्वदेशी तथा विदेशी पर्यटक गरी फेष्टिवलको करिव ५ लाखले अवलोकन गर्ने अनुमान गरिएको छ । फेष्टिवलबाट भएको बचत मध्ये केही रकम उज्यालो सौराहा,अपाङग तथा वृद्धवृद्धा,सौराहाको सरसफाई, घुम्ती शौचालय निर्माणका लागि छुट्याईने आयोजकले जनाएको छ । फेष्टिवलमा प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ । राष्ट्रिय कलाकार प्रजापति पराजुली,रमेशराज भट्टराई,दुर्गा सापकोटा,प्रमोद खरेल,कमल खत्री,पुर्णकला विसी,सम्झना भण्डारी,चोलेन्द्र पौडेल,मनोज महतो लगायतका कलाकारहरुको प्रस्तुती रहने सास्कृतिक कार्यक्रम संयोजक नवीन नेपालले जानकारी दिए । स्वदेशी तथा विदेशी पर्यटक प्रर्वद्धन गर्ने उदेश्यका साथ रेवान सौराहाले प्रत्येक वर्ष फेष्टिवल गर्दै आएको छ । भ्यालेनटाईन डेको अबसर पारेर फुड फेष्टिवल आयोजना गरिएकाले प्रेम जोडीहरुलाई भ्यालेनटाईन डे मनाउन उपयुक्त स्थान हुने आयोजकले जनाएको छ ।

Promise Education Consultancy