कंकाली माविका पूर्व विद्यार्थीहरु संगठित हुँदै

चितवन, २२ माघ । खैरहनी नगरपालिका वडा नं. १ मा रहेको कंकाली माविमा अध्ययन गरी विभिन्न पेशा र व्यावसाय गरीरहेका पूर्व विद्यार्थीहरु संगठित हुन थालेका छन् ।
पूर्व विद्यार्थीहरुको एक भेलाबाट आज पूर्व विद्यार्थी अर्जुन लम्सालको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा लाल प्रसाद चालिसे, सचिवमा गणेश ढुंगाना र सदस्यहरुमा कृष्ण सेडाई, दिपेन्द्र चौधरी, हरि बर्तौला, रुद्र प्रसाद डल्लाकोटी, रामचन्द्र पराजुली, रमेश बुर्लाकोटी, रमेश भण्डारी र कारी महतो रहेका छन् ।
तदर्थ समितिले बृहत भेलाको आयोजना गरी विधिवत् रुपमा पूर्व विद्यार्थी संघको कार्यसमिति चयन गर्ने बताइएको छ । नवगठित तदर्थ समितिको संयोजक अर्जुन लम्सालले आफूभन्दा अगाडि र पछाडिका सम्पूर्ण पूर्व विद्यार्थीहरुलाई समेटी एक बृहत भेलाको आयोजना गर्ने बताए ।
पूर्व विद्यार्थीहरुले आफ्नो तर्फबाट विद्यालयका शैक्षिक तथा भौतिक सुधारका साथै विद्यालयको कार्यक्षेत्रभित्र सामाजिक सेवा गर्ने धारणा रहेको बताएका छन् ।
विद्यालयका प्रधानाध्यापक अन्जना आचार्यले नवगठित तदर्थ समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै विद्यालयको समग्र विकास र शैक्षिक सुधारमा थप टेवा पुग्ने विश्वास लिएको बताएका छन् । बैठकमा सहप्रधानाध्यापक ज्ञानेन्द्र ढकाल र नारायण चौधरीको पनि उपस्थिति रहेको थियो ।