होटल संचालकले प्रहरीलाई घुस दिन खोज्दा

काठमाडौं,माघ २२ । प्रहरीलाई घुस दिएर प्रभावीत पार्न खोज्ने सुन्धाराका एक होटल संचालक पक्राउ परेका छन्। सुन्धाराको श्री गुरु होटलका संचालक चितवन घर भएका सुदिप न्यौपाने शनिबार बेलुका पक्राउ परेका हुन्।

महानगरीय प्रहरी वृत्त जनसेवाले न्यौपानेलाई पक्राउ गरी सार्वजनिक अपराध मुद्दामा कारबाही अघि बढाएको छ। वृत्तका सई राजकुमार श्रेष्ठको कमाण्डमा प्रहरी टोली उनको होटलमा नियमित चेकजाँचमा गएको थियो। जस क्रममा उनले प्रहरीलाई जर्बजस्ती ५ हजार रुपैयाँ घुस दिन खोजेका थिए।

चेकजाँच नगर्न अनुरोध गर्दै उनले घुस दिएका हुन्। प्रहरीलाई प्रभावीत पार्न खोजेकाले उनलाई पक्राउ गरिएको वृत्तका डिएसपी मोहन थापाले बताए। केही महिनायता जनसेवा प्रहरीले सुन्धारा क्षेत्रका होटलहरुमा कडाईका साथ चेकजाँच गर्दै आएको छ।