देवघाटलाई आकर्षक सांस्कृतिक पर्यटकीय क्षेत्र बनाउनुपर्छ : राष्ट्रपति भण्डारी

चितवन, २१ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले देवघाटधामलाई भौतिक पूर्वाधार सहितको अति आकर्षक सांस्कृतिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने बताएकी छिन् । चितवन, तनहूँ र नवलपरासी जिल्लाको संगममा पर्ने पवित्र तीर्थस्थल देवघाटमा गलेश्वर आश्रमले आयोजना गरेको धनयान्याचल विराट महायज्ञ उद्घाटन गर्दै भण्डारीले देवघाटधाम ऐतिहासिक धरोहर बोकेको तीर्थस्थल भएको बताइन् ।
धर्मले समाजमा शान्ति, सदभाव र भ्रातृत्व कायम राख्न मद्दत पु¥याउने भण्डारीको भनाइ थियो । समाजलाई मौलिक संस्कृतिप्रति समर्पित बनाउन आवश्यक रहेकोमा भण्डारीले जोड दिइन् । पर्यटन विकास नेपालको अर्थतन्त्रको महत्वपूर्ण पक्ष रहेकोले देवघाट धामलाई सबैको आस्थाको रुपमा प्रवद्र्धन गर्नुपर्ने बताइन् ।
लामो राजनीतिक सङ्क्रमणकाल अन्त्य गर्दै मुलुक अगाडि बढिरहेको अवस्थामा स्रोत र साधनको दिगो र अधिकतम परिचालन गरि अर्थतन्त्रका विविध आयामलाई सुदृढ बनाउनु आवश्यक रहेकोमा भण्डारीले जोड दिइन् । महाकवि बेदव्यासले महाभारत ग्रन्थ लेखेको, विभिन्न विद्वान तथा सन्तमहन्तहरु बसेर संस्कृत शिक्षाको प्रवद्र्धन गरेको देवघाटधाम पर्यटन विकासको हिसाबले समेत महत्वपूर्ण क्षेत्र रहेको बताइन् ।
राष्ट्रपति भण्डारीले करिब नौ करोड रुपैयाँमा निर्माण गरिएको नर्मदेश्वर शिव मन्दिर तथा धर्मशालाको उद्घाटन समेत गरेकी छिन् । देवघाट धाममा देशका विभिन्न जिल्लाहरुबाट आएर वृद्धवृद्धाहरु कल्पबास बस्ने गरेका छन् । महायज्ञ फागुन २ गतेसम्म सञ्चालन हुनेछ ।

Promise Education Consultancy