चितवन प्रहरीद्वारा आकस्मिक चेकजाँच सञ्चालन

चितवन,२१माघ । जिल्ला प्रहरी कार्यालय चितवनले अदालतबाट सजाय पाएर फरार रहेका व्यक्तिहरु खोजी गर्न आकस्मिक चेकजाँच सञ्चालन गरेको छ ।

पछिल्लो समय विभिन्न अपराधिक क्रियाकलापमा संलग्न व्यक्ति जिल्लाबाट पक्राउ पर्न थालेपछि चितवन प्रहरीले आकस्मिक चेकजाँच सञ्चालन गरेको हो ।

चितवन पछिल्लो समय अपराधिक क्रियाकलाप गर्ने व्यक्तिहरुको अखडाको रुपमा देखिन थालेको छ । अपराधीले राजधानीलगायत अन्य जिल्लामा अपराधिक क्रियाकलापमा संलग्न हुने र चितवनलाई लुक्ने ठाँउका रुपमा प्रयोग गर्दै आएका छन् ।

चितवन प्रहरीले प्रत्येक दिन जिल्लाका १३ ठाउँमा चेकजाँच गर्ने गरेको नायब प्रहरी उपरिक्षक ९डिएसपी० प्रभुप्रसाद ढकालले बताए । साना हातहतियार तथा लागु औषध बोकेर हिँड्ने व्यक्तिलाई केन्द्रित गरी चेकजाँचलाई कडा परिएको उनले बताए ।

गत कात्तिकमा डिएसपी ढकालको संयोजकत्वमा चितवन प्रहरीले प्रोसेफनल स्टार्डड टिम समेत गठन गरेको थियो । नेपाल प्रहरीको आन्तरीक सुदृढीकरण अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय चितवन र मातहतका प्रहरी कार्यालयहरुबाट सम्पादन भइरहेका कार्यहरुलाई अझ बढी चुस्त, दुरुस्त र प्रभावकारी एवं नतिजामूलक बनाउन टिम गठन गरिएको हो ।

प्रोसेफनल स्टार्डड टिमले प्रहरी कार्य, अपराध रोकथाम तथा अनुसन्धान, ट्राफिक व्यवस्थापन, कार्यालय व्यवस्थापन तथा अन्य प्रहरी सेवालाई अझ प्रभावकारी बनाउन प्रत्यक्ष र अप्रत्यक्ष रुपमा अनुगमन तथा निरिक्षण गर्ने तथा आवश्यकता अनुसार निर्देशन दिने, समन्वय गर्ने र कारवाहीको लागि कार्यालय प्रमुख समक्ष सिफारिस गर्ने सम्मको कामहरु गर्दै आइरहेको छ ।

प्रहरीको काम कारवाहीलाई प्रभावकारी बनाउन हाल भई रहेका कमीकमजोरी पत्ता लगाउने र त्यसको समाधानका उपायहरुसहित कार्य सम्पादनलाई उच्चस्तरको बनाउन यसले सहयोग गर्ने ढकालले बताए ।

प्रहरीले सञ्चालन गरेको आकस्मिक चेकजाँचलाई स्थानीयले सकारात्मक रुपमा लिएका छन् ।