देवघाट क्षेत्रमा विद्युतीय शवदाह गृह निर्माणका लागि सर्भेको काम शुरु

चितवन, २० माघ । चितवनतर्फको देवघाट क्षेत्रमा विद्युतीय शवदाह गृह निर्माणका लागि सर्भेको काम अघि बढाइएको छ । देवघाट क्षेत्र विकास समितिका अनुसार हिन्दू धर्मावलम्बीहरुको पवित्रधाम देवघाटमा चार कठ्ठा जग्गामा विद्युतीय शवदाह गृह बनाउने प्रकृया अघि बढेको हो ।

शवदाह गृह निर्माणका लागि भरतपुर महानगरपालिकाले यसै वर्ष २० लाख रुपैयाँ बजेट छुट्टाएको छ । विद्युतीय शवदाह गृह बनाउन ७ करोड लाग्ने अनुमान गरिएको छ । यसै वर्ष शहरी विकास मन्त्रालयले पनि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले बताए ।

सबै काम सकेर फागुन महिनाबाट निर्माणको काम थाल्ने योजना रहेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष पौडेलले जानकारी दिए ।शवदाह गृह निर्माणको लागि दाहसंस्कार व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
देवघाटमा विद्युतीय शवदाह गृह बनाउनको लागि सहरी विकास मन्त्रालयअन्तर्गत रहेको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय भरतपुरको एउटा प्राविधिक टोली काठमाडौं गएर पशुपति क्षेत्रको विद्युतीय शवदाह गृहको स्थलगत निरीक्षण गरेको थियो ।

पशुपति क्षेत्र विकास कोषले काठमाडौंको पशुपतिमा विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याएपछि देवघाट क्षेत्र विकास समितिले पनि देवघाटमा विद्युतीय शवदाह गृह बनाउन चासो दिएको थियो ।

देवघाटमा दैनिक औसत १३/१४ जनाको दाउराबाट दाहसंस्कार हुँदै आएको छ । केहीलाई त्यही खाडल खनेर पनि गाड्ने गरिन्छ । दाउराबाट एउटा दाहसंस्कार गर्न ३ हजारभन्दा बढी खर्च लाग्छ । तर, विद्युतीय चितामा दाहसंस्कार गर्दा ७५ प्रतिशत खर्च कम हुने अध्यक्ष पौडेलले बताए ।

Promise Education Consultancy