निकुञ्ज घुम्नेमा विदेशी महिला बढी

–बसन्त पराजुली

चितवन, २० माघ । चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकमा विदेशी महिला र नेपालसहितका सार्क राष्ट्रका पुरुष बढी हुने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार विदेशीहरुमा पुरुषभन्दा महिला बढी र सार्क राष्ट्रका महिलाको तुलनामा पुरुष बढी घुम्ने गरेको पाइएको हो ।
कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष ०७३/०७४ मा एक लाख ३९ हजार १२५ जनाले चितवन निकुञ्ज घुमेका छन् । यसरी घुम्नेमध्येमा विदेशी ८७ हजार १९०, नेपाली ३६ हजार ५६ र अन्य सार्क मुलुकका १५ हजार ८७९ जना रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए ।
निकुञ्ज घुम्नेमध्ये विदेशका पुरुष ४० हजार ९६६ र महिला ४६ हजार २२४, नेपालीमा पुरुष १९ हजार ४४६ र महिलामा १६ हजार ६१० एवं अन्य सार्क राष्ट्रका पुरुष ९ हजार ५२ र महिला ६ हजार ८२७ रहेका छन् ।
चितवन पर्यटन विकास समितिका महासचिव प्राध्यापक विश्व सुवेदी भन्छन्, “विदेशीमा महिला र सार्क राष्ट्रमा पुरुष पर्यटकको संख्या बढी हुनुमा सामाजिक संस्कार र शिक्षा नै प्रमुख कारण हो ।”
उनी भन्छन्, “युरोप, अमेरिकालगायतका पश्चिमी राष्ट्रका महिलाहरु अलि बढी स्वतन्त्र छन्, त्यसैले उनीहरु एक्लै हिँडडुल गर्न सक्छन् ।”
“नेपाल, भारत, पाकिस्तानलगायतका सार्क राष्ट्रहरुका महिला सामाजिक र परम्परागत रुपमा पनि अझै परनिर्भरमुखी नै रहेकाले उनीहरु बढी परिवार वा आफन्त पुरुष साथी वा अभिभावक लिएरमात्रै हिँड्ने, डुल्ने गर्दछन्”, प्राध्यापक सुवेदीको तर्क छ । महिलाहरुमा शिक्षाले पनि समस्या पारेको उनको भनाइ छ ।
“अझै पनि महिलाभन्दा बढी पुरुष शिक्षित भएका देशका हामी नागरिक अनि स्वतः महिलाभन्दा बढी पुरुष नै हिँडडुल गर्छन्”, सुवेदीले भने ।
कतिपय विदेशी महिलाहरु नेपालमा सपिङ्ग नै गर्ने उदेश्यले पनि आउने गरेको उनको अध्ययन छ । नेपाली पर्यटकका सम्बन्धमा सुवेदी खोज अनुसन्धान गर्ने विज्ञसमेत हुन् । “अन्यत्रका तुलनामा नेपाली समानहरु सस्ता छन् । विशेषतः हस्तकलाका समानहरु खरिद गर्नकै लागि पनि धेरै देशका महिला नेपाल आइरहेका छन्”, सुवेदी भन्छन् ।
चितवन राष्ट्रिय निकुञ्ज वन र वन्यजन्तुमा आधारित पर्यटकीय क्षेत्र हो । विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्ज र त्यहाँ रहेका वन तथा वन्यजन्तु अवलोकनकै लागि स्वदेशी तथा विदेशी पर्यटक चितवन आउने गर्दछन् । चितवनका थारु जातिको मौलिक नाच पनि चितवन आउने पर्यटकका लागि थप आर्कषण बन्ने गरेको छ ।
हात्तीमाथि चढेर वाघ, गैँडाजस्ता दुर्लभ जनावर हेर्ने अर्थात् हात्ती सफारी गरेर वन्यजन्तु नै अवलोकन गर्ने चितवन राष्ट्रिय निकुञ्ज विश्वमै ख्यातिप्राप्त छ । यहाँ विसं २०२९ सालमा निकुञ्ज स्थापना हुनुपूर्वदेखि नै पर्यटक आवागमन हुने परेको पाइन्छ ।
क्षेत्रीय होटल संघ सौराहाका संस्थापक अध्यक्ष एवम् चितवनका पहिलो पर्यटक गाइड गिरीधारी चौधरी पश्चिमाहरु पहिलादेखि नै महिलाहरु एक्लै–एक्लै घुम्न आउने गरेका अनुभव सुनाउँछन् । “पहिला–पहिला त महिला भनेका विदेशीमात्रै देखिन्थे अहिलेचाहिँ नेपालसहितका सार्क राष्ट्रका पनि विस्तारै महिलाको संख्या देखिन थालेका छन्”, चौधरीले भने ।
“हाम्रो सस्कार एक्लै घुम्ने हैन । जबसम्म एक्लै हिँड्दा पनि सुरक्षित छु भन्ने विश्वासको विकास हुँदैन तबसम्म हामी महिलालाई घुम्न पढाउन सक्दैनौँ”, चौधरीले थपे, “पश्चिमाहरुका हकमा महिलाहरु बढी विश्वासिला र आँटिला छन् ।”
चितवन घुम्ने विदेशीको संख्या बढ्दो
बाढीको बितण्डा र नारायणगढ–मुग्लिन सडकको दूरावस्थाकै बीचमा पनि चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको संख्या बढ्दो देखिन्छ । अघिल्लो वर्ष साउनदेखि पुससम्मको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको ६ महिनामा पर्यटकको संख्या वृद्धि भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको ६ महिनामा ६७ हजार १२३ पर्यटकले चितवन निकुञ्ज अवलोकन गरेका छन् । यसरी निकुञ्ज अवलोकन गर्नेमध्येमा विदेशी ४६ हजार ७८९, सार्क राष्ट्रका ७ हजार ४४ र नेपाली १ हजार ३२९ रहेका छन् ।
यो संख्या अघिल्लो आर्थिक वर्षको उही अवधिमा ६३ हजार ८०५ रहेको छ । आर्थिक वर्ष ०७३/०७४ मा चितवन राष्ट्रिय निकुञ्जमा एक लाख ३९ हजार १२५ जना पर्यटकले अवलोकन गरेको तथ्यांक निकुञ्जसँग छ ।
गएको आर्थिक वर्षको पहिलो ६ महिनामा निकुञ्ज घुम्ने पर्यटकमध्ये विदेशी ४१ हजार ४९९, सार्क राष्ट्रका ५ हजार २७० र नेपाली १७ हजार ३७ जना रहेको तथ्यांक निकुञ्जसँग छ ।
पर्यटकको वृद्धिसँगै निकुञ्जले गर्ने प्रवेश शुल्कवापतको राजश्व पनि बढाएको छ । चालु आर्थिक वर्षको ६ महिनामा ७ करोड ७८ लाख ६० हजार एक सय रुपैयाँ निकुञ्जले पर्यटकको प्रवेशवापत राजश्व संकलन गरेको छ । यही अवधिमा गएको आर्थिक वर्षको उही अवधिमा पर्यटकको प्रवेश शुल्कवापत निकुञ्जले ७ करोड ५५ लाख ५ हजार ८५० राजश्व संकलन गरेको थियो ।
साउन अन्तिमदेखि भदौ महिनाभरि नै पर्यटकीय नगरी सौराहासँगै निकुञ्ज डुबानमा थियो । अहिलेको वाढीले निकुञ्ज र वन्यजन्तुमा समेत ठूलो प्रभाव परेको थियो । यस्तै नारायणगढ–मुग्लिन सडक पूर्ननिर्माणका क्रममा भइरहेको ढिलासुस्तीको प्रभाव पनि चितवनको पर्यटनमा परेको भनिए पनि निकुञ्ज घुम्ने पर्यटकको संख्या सुधारोन्मुख हुनुलाई राम्रो मान्न सकिन्छ ।
क्षेत्रीय होटल संघ सौराहाका संस्थापक अध्यक्ष गिरीधारी चौधरी भन्छन्, “नारायणगढ–मुग्लिन सडकको स्तर वृद्धिसँगै निकुञ्ज घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकको संख्या अझै बढ्ने छ । यसका लागि निकुञ्जको प्रचारप्रसार र प्रवद्र्धन अझै गर्नुपर्ने देखिन्छ ।”