भरतपुर अस्पतालमा अप्रेसनको पालो पाउन महिनौँ कुर्नुपर्ने झन्झट

 

चितवन, २० माघ । भरतपुरको क्यान्सर अस्पतालमा बर्दियाकी सुनिता बडुवालले तीन महिनापछि बल्ल थाइराइडको अप्रेसन गर्ने पालो पाइन् चितवन पोष्ट दैनिकमा किशार खनालले खबर लेखेका छन्
त्यस्तै, सप्तरी वीरपुरका शिवनारायण यादवले एक महिनापछि घाँटीको अप्रेसन गर्ने पालो पाए । यसैगरी भैरहवाका पुनर्वासी यादवको दुई महिना १२ दिनपछि बल्ल जिब्रोको अप्रेसन गर्ने पालो आयो ।
लामो समयसम्म अप्रेसनको पालो कुर्नुपर्ने भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अप्रेसन गर्न आउने बिरामीको नियति नै बनेको छ । भरतपुरको क्यान्सर अस्पतालमा अप्रेसन गर्दा एक महिना नकुरी कुनै पनि बिरामीले पालो पाउँदैनन् ।
‘तीन महिनापछि बल्ल मेरी बिरामी श्रीमतीको थाइराइडको अप्रेसन गर्ने पालो आयो’ बर्दियाका विकास बडुवालले भने, ‘तीन महिनापछि पालो पाउँदा एकातिर ज्यानको जोखिम बढ्दो रहेछ, अर्कोतिर खर्च त बढ्ने नै भयो ।’ उनले ३ महिनापछि पालो पाउँदा डाक्टरले पहिलाको कुनै रिपोर्टले काम नगर्ने बताएपछि आफ्नो खर्च दोव्बर बढेको बताए । उनले तीन महिनापछि अप्रेसनको पालो पाउँदा सबै नयाँ रिपोर्ट बनाउन परको बताए ।
जिब्रोको अप्रेसन गराउन बुबालाई भरतपुर क्यान्सर अस्पताल ल्याएका सप्तरीका देवनाथ यादवले अप्रेसनको पालो ढिलो पाउँदा बिरामीलाई धेरै नै कष्ट भएको बताए । उनले भने, ‘चाँडै अप्रेसनको पालो नपाउँदा खर्च बढ्यो, बिरामीको घाउ पनि बढ्यो ।’ उनले समयमै अप्रेसनको पालो नपाउँदा धेरै नै सास्ती भोग्नुपरेको बताए ।
‘भरतपुर क्यान्सर अस्पतालमा एक महिनाको अवधिमा अप्रेसनको पालो पाउनु भनेको त ठूलै चिठ्ठा पर्नु पर्दोरहेछ’ उनले भने ।
अप्रेसनको पालो महिनौँ कुर्नुपर्ने झन्झटबाट भरतपुर क्यान्सर अस्पताल अझै पनि मुक्त हुन सकेको छैन । दक्षिण एसियाकै उत्कृष्ट अस्पतालमा गनिएको भरतपुर क्यान्सर अस्पतालमा केही वर्षदेखि रेडियो थेरापीको २ वटा मेशिन बिग्रेर बसेको छ । रेडियो थेरापीको भित्री सेकाइ र बाहिरी सेकाइको दुई वटा मेशिन बिग्रेको ३ वर्ष भयो ।

अस्पतालमा शैयाहरु अभाव भएको वर्सौ भइसक्यो । पर्याप्तमात्रामा जनशक्ति अभाव भएको पनि थुपै्र समय भयो । यस्तो अवस्थामा पनि अस्पताल प्रशासनले अप्रेसनको पालो कुर्नुपर्ने समस्यालाई सहज रुपमा लिँदै आएको छ ।
‘देशभरका क्यान्सरका बिरामी यहाँ आउँछन् । यहाँ सस्तोमा उपचार हुन्छ । दिनानुदिन बिरामीको संख्या पनि बढिरहेको छ’ क्यान्सर अस्पतालका कार्यकारी निर्देशक विजयचन्द्र आचार्यले भने, ‘जनशक्ति, भवन, अप्रेसन कक्ष, र आधुनिक मेशिनहरु नबढ्दा बिरामीले लामो समयसम्म पालो कुर्नुपरेको हो ।’

उनले विश्वको जुनकुनै सस्तो, राम्रो अस्पतालमा पालो कुर्नुपर्ने समस्या रहेको बताए ।
अस्पतालमा रेडियोथेरापीको भित्री र बाहिरी सेकाइका दुई वटा मेशिन बिग्रेर बसेको वर्षौ भए पनि त्यो मर्मत हुन सकेको छैन । जसले गर्दा बिरामीले लामो समयसम्म पालो कुर्नुपरेको छ ।
‘बिग्रेर बसेको मेशिन बन्दैन अब, कम्पनीले नै बन्दैन भनिसकेको छ’ कार्यकारी निर्देशक आचार्यले भने, ‘रेडियोथेरापीको दुई वटा नयाँ मेशिन आउँदैछ । त्यो आएपछि लामो समयसम्म पालो कुर्नुपर्ने झन्झट केही कमी हुन्छ ।’
अस्पतालमा अहिले अप्रेसनका चारवटा मेजर कक्ष छन् । यति ठूलो अस्पतालमा जम्मा चार वटा अप्रेसन कक्ष हुनु यो दुर्भाग्य नै हो । अस्पतालमा जम्मा १८४ शैया छन् । २० जना मेडिकल अफिसर र ५६ जना विशेषज्ञ छन् ।
‘हामीसँग जनशक्ति, भवन, आधुनिक मेशिनहरु कमी छ, जसले गर्दा बिरामीले अप्रेसनको पालो कुर्नुपरेको हो’ कार्यकारी निर्देशक आचार्यले भने, ‘केही दिन पालो त अवश्य कुर्नुपर्छ, जहाँसम्म महिनौँ कुर्नुपर्ने झन्झट अब छिटै हटाउनको लागि पहल गरिरहेका छौँ ।’
८० वेडको नयाँ भवन अब छिटै सम्पन्न हुने, अप्रेसन कक्ष पनि थप गर्ने र रेडियोथेरापीसहितका अन्य मेशिनहरु ल्याउने योजना आफ्नो रहेको उनले बताए ।
‘क्यान्सरका बिरामी धेरै बढिरहेका छन्, यो देशकै क्यान्सरको एकमात्र नमुना अस्पताल हो । देशभरका क्यान्सरका बिरामीको चाप भरतपुर अस्पतालमा छ’ कार्यकारी निर्देशक विजयचन्द्र आचार्यले भने, ‘बिरामीको चाप थेग्न नसक्दा पालो कुर्नुपर्ने समस्या आएको हो ।’

Promise Education Consultancy