काठमाडौँ र काभ्रेमा भेटिए सर्वाधिक क्यान्सर रोगी

भक्तपुर,२० माघ । नेपालमा अर्बुद(क्यान्सर) रोगीको संख्या सबैभन्दा बढी काठमाडौँ र काभ्रेपलाञ्चोकमा रहेको तथ्य सार्वजनिक भएको छ।

अर्बुद रोग दिवसका अवसरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भक्तपुर क्यान्सर अस्पतालका प्रमुख डा.ऋषिकेशनारायण श्रेष्ठले एक वर्षको अवधिमा उपचार गरिएका बिरामीमध्ये काठमाडौंका ३ सय ४९ र काभ्रेपलाञ्चोकका १ सय ९१ रहेको बताए।

त्यस्तै भक्तपुरका १ सय ७८, ललितपुरका १ सय ५० र सिन्धुपाल्चोक १ सय ३८, मोरङका १ सय २९, झापाका १ सय १९, सुनसरीका १ सय २ दोलखाका ९५ र मकवानपुरका ९० अर्बुदरोगीले अस्पतालमा उपचार गराएको डा श्रेष्ठले जानकारी दिए।

अस्पतालमा आएका बिरामीमध्ये सबैभन्दा धेरै पाठेघरका अर्बुद रोगी भेटिएको छ। अस्पतालका अनुसार एक वर्षमा ४ सय ६२ मा पाठेघर, ४ सय २२ मा घाँटीको र ३३७ जनामा स्तन अर्बुद रोग देखिएको छ। टाउको र नाकमा हुने अर्बुद रोग २ सय ९३ जनामा देखिएको छ।

सो अस्पतालले मात्रै एक वर्षमा करिब ६० हजार अर्बुद रोगीको उपचार गर्ने गरेको छ। अस्पतालको तथ्यांकअनुसार सन् २०१२ देखि २०१७ सम्मको पाँच वर्षका अवधिमा नेपालमा अर्बुदरोगीको संख्या वृद्धि हुँदै गइरहेको छ।

सन् २०१२ मा अस्पतालले २८ हजार ३ सय ६६ बिरामीको उपचार गरेकामा २०१७ सम्म आइपुग्दा सो संख्या दोब्बरभन्दा धेरै अर्थात् ६८ हजार ४ सय ४१ पुगेको अस्पतालका प्रशासक राजाराम तजलेले जानकारी दिए। रासस