प्रदेश ३ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सञ्चालनमा,यी ठाउँमा हुनेछन् मन्त्रालय

काठमाडौँ २० माघ । प्रदेश ३ को पहिलो अधिवेशन सम्पन्न भएपछि विभिन्न मन्त्रालय र सरकारी कार्यालयको रङरोगनसहित सरसफाइ तीव्र बनाइएकोे छ । प्रदेशका मन्त्रालय, मुख्यमन्त्री, प्रदेश प्रमुख, सभामुख, उपसभामुख, मन्त्रीहरूको निवासका लागि जिल्ला सरकारी कार्यालय र क्षेत्रीय कार्यालयलाई प्रयोग गरिने भएको छ । ती कार्यालयमा रङरोगन तथा सरसफाइ भइरहेको भवन प्रविधि अनुसन्धान तथा तालिम केन्द्रका प्रमुख सुदीप आचार्यले बताए । ‘धेरैजसो प्रादेशिक मन्त्रालय र प्रदेश प्रमुखदेखि मन्त्रीनिवासमा रङरोगनका साथै मर्मतसम्भार भइरहेको छ,’ उनले भने, ‘माघभित्र सबै मन्त्रालय र निवासको रङरोगन सक्छौँ । आजको नयाँपत्रिका दैनिकमा खबर छ ।

कार्यालय व्यवस्थापनका लागि कमिटी गठन
प्रादेशिक कार्यालयको व्यवस्थापनका लागि चार सदस्यीय कमिटी गठन गरिएको छ । कमिटीको संयोजकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रमेश सिवाकोटी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव बलदेव जोशी र भवन प्रविधि अनुसन्धान तथा तालिम केन्द्रका प्रमुख सुदीप आचार्य सदस्यसचिव छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सञ्चालनमा
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लागि साबिकको जिल्ला समन्वय समितिको कार्यालयमा कायम गरिएको छ । शुक्रबारदेखि कार्यालय सञ्चालनमा आएको हो । मुख्यमन्त्रीको निवास अख्तियार क्षेत्रीय कार्यालयमा तयार गरिएको छ ।

यी ठाउँमा हुनेछन् मन्त्रालय
प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित सात मन्त्रालय हुनेछन् । आवश्यक परेमा सम्बन्धित प्रदेशले कानुन बनाई मन्त्रालय थपघट गर्न सक्ने व्यवस्था छ । डिभिजन सहकारी कार्यालय, क्षेत्रीय वन निर्देशनालय, जिल्ला वन कार्यालय, श्रम रोजगार सीप विकास कार्यालय, महिला विकास कार्यालयमा एक–एक मन्त्रालय राख्ने तयारी गरिएको छ । ती भवनको रङरोगन तथा मर्मतसम्भार भइरहेको आचार्यले बताए ।

हेटौँडा सिमेन्टको क्वार्टरलाई मन्त्रीनिवास
हेटौँडा सिमेन्ट उद्योगको क्वार्टरमा मन्त्रीनिवास बनाइने भएको छ । सो क्वार्टरलाई सिमेन्ट उद्योगका प्रमुख, विभिन्न शाखाका प्रमुख र कर्मचारीले निवासका रूपमा प्रयोग गर्दै आएका थिए । निवासका लागि भवन खाली गरी रङरोगन गर्न निर्देशन दिइसकिएको छ ।

सभामुख र उपसभामुख निवास तयार
प्रदेश सभामुख र उपसभामुखको निवास रङरोगन तथा मर्मतसम्भार गर्नुनपर्ने भएको छ । हालै बनेको भवन सडक डिभिजन कार्यालयका प्रमुखसहित कर्मचारीले प्रयोग गर्दै आएकाले रङरोगन गर्नुनपर्ने भएको हो । सभामुख र उपभामुखको कार्यकक्ष प्रदेश सभा सचिवालयको पहिलो तलामा तयार गरिएको छ ।

क्षेत्रीय वन कार्यालय प्रमुख सचिव र सचिवको निवास
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रेश्मीराज पाण्डेको निवास क्षेत्रीय वन कार्यालयमा बनाउने तयारी छ । मन्त्रालयका सचिवका लागि सडक डिभिजन कार्यालय परिसरमा रहेको भवनमा राख्ने तयारी रहेको आचार्यले बताए । ती भवनलाई तत्काल खाली गरी रङरोगन गर्न निर्देशन दिइसकिएको छ ।