सुष्मा स्वराजले ओलीलाई भनिन् ‘सँगै मिलेर काम गरौं’

काठमाडौं, १९ माघ ।भारतीय विदेशमन्त्री सुष्मा स्वराजले वाम विजयका लागि बधाई दिँदै आगामी सरकारसँग मिलेर काम गर्न तयार रहेको बताएकी छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश बोकेर बिहीबार काठमाडौं ओर्लेकी उनले एमाले अध्यक्ष केपी ओलीलाई भेट्दै यस्तो बताएकी हुन् । ओलीसँग साँझ झन्डै एक घण्टाको एक्लाएक्लै भेटका क्रममा सहकार्य प्रस्ताव गरेकी उनले लगत्तै एमाले नेताहरूसँगको डिनरमा उही आग्रह दोहोर्‍याइन।

‘नेपालमा संविधान निर्माणपछि सम्पन्न तीनवटा निर्वाचन परिणामले एमालेसहितको गठबन्धनलाई बहुमत दिएका छन्,’ दुईदिने नेपाल भ्रमणमा आएकी विदेशमन्त्री स्वराजलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपार्इंहरुलाई हाम्रो बधाई छ । अब बन्ने नयाँ सरकारसँग मिलेर काम गर्न भारत सरकार तयार छ ।’ एमाले सचिव प्रदिप ज्ञवालीले रात्रि भोजसहितको भेटमा स्वराजलाई उद्धृत गर्दै भने, ‘म एउटा निश्चित एजेन्डा लिएर आएकी होइन, संविधान जारी भएपछि शान्तिपूर्ण रुपमा सम्पन्न निर्वाचन भएको खुशीयाली तपाईहरूसँग आदान प्रदान गर्न यहाँ आएकी हुँ ।’