रत्ननगर नगरपालिकाको दोश्रो नगर सभाबाट ११ बुँदे विकासका योजना पारित

रत्ननगर १८ माघ । रत्ननगर नगरपालिकाको दोश्रो नगर सभाले ११ बुँदे विकासका योजना पारित गरेको छ । नगर सभाले विकास निर्माण संगै शिक्षा,स्वास्थ्य,सिंचाईलाई प्राथमिकता दिएर योजना पारित गरेको हो ।

नगर सभाले रत्ननगरमा वसपार्क निर्माण गर्ने,सौराहाचोकमा आकासे पुल निर्माण गर्ने, मुख्य राजमार्गमा ट्राफिक आइल्याण्ड निर्माण गर्ने लगायतका योजना पारित गरेको नगरपालिकाका मेयर नारायण वनले जानकारी दिए ।

सौराहाचोकमा आकासे पुल निर्माणको लागि प्रक्रिया सुरु भईसकेको उनले बताए । नगर सभाले करको दायरा बहिर रहेकालाई करको दायरामा ल्याउन करदातालाई तथ्याङक संकलन,करको दायरामा ल्याउने र कर संकलन गर्ने प्रयोजनार्थ घरदैलौ कार्यक्रम संचालन गर्ने निर्णय गरेको नगरपालिकाका मेयर नारायण वनले जानकारी दिए । सार्वजनिक जग्गा व्यवस्थापन गरी वडा नंं. १ र २ मा नेपाल माविको जग्गासँग सटेको तथा बुढीकुलो वारी पारी रहेको जग्गामा साना सवारी साधनको पार्किङ्ग स्थल निर्माण गर्ने र सो निर्माण गर्न नगर कार्यपालिकाबाट बजेट विनियोजन गर्ने नगर सभाले निर्णय गरेको छ ।

नगरपालिकाले नगरभित्रको शिक्षालाई प्रभावकारी बनाउन नगर भित्रका दुई वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनको लागि आवश्यक आर्थिक सहयोग गर्ने निर्णय भएको छ ।

नगर सभाले पिठुवामा रहेको जनजागृति मावि र रत्ननगर १० मा रहेको बैरिया माविलाई प्राविधिक शिक्षा सञ्चालनको लागि आगामी नगर सभाबाट २५/२५ लाख रुपैया विनियोजन गर्ने निर्णय भएको नगरपालिकाकी प्रबक्ता सरस्वती लामाले जानकारी दिईन ।

\कृषि क्षेत्रको विकासको लागि नगरपालिकाले सिंचाई अन्तर्गत डिप वेल तथा स्यालो ट्युव कार्यक्रम संचालन गर्ने,वडा नंं.९ मा रहेको इकोपार्कमा साँस्कृति बहिचान झल्कने घर निर्माण गर्ने र त्यसका लागि आवश्यक बजेट विनियोजन गर्ने निर्णय गरेको प्रबक्ता लामाले जानकारी दिईन ।