चरेस तस्करीमा दुधे बच्चाकी आमासहित ३ पक्राउ, महिलालाई भरिया बनाइदैँ 

 

वीरगंज, १७ माघ । नेपालबाट भारत तस्करी गरिने लागु औषध चरेशको तस्करीमा गर्भवती तथा बच्चा बोक्ने महिलालाई प्रयोग गर्न थालिएको छ ।

प्रहरी प्रशासन द्वारा महिलालाई पुरुष भन्दा कम चेकजाँच गरिने भएकोले तस्करहरुले केही हजार रुपियाको प्रलोभनमा महिलालाई भरियाको रुपमा प्रयोग गर्न थालेको पर्सा प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

पर्सा प्रहरीले यस्तै एक घटनामा दुई महिला र एक पुरुषसहित ३ जनालाई पक्राउ गरी लागु औषध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले बताए ।

उनीहरुको साथबाट प्रतिबन्धित लागु औषध साढे १० किलो चरेश बरामद गरिएको छ ।आधा किलोको २१ वटा ईटा जस्तो देखिने चरेशको प्याकेट जीउमा लुकाई छिपाई रक्सौल तर्फ जानको लागेको अवस्थामा हिजो पर्सा प्रहरीले उनीहरुलाई वीरगंज–१६ ईनार्वा चोकबाट विशेष सुराकीको अधारमा नियन्त्रणमा लिएको थियो ।

पक्राउ पर्नेमा वीरगंज–१६ बस्ने वर्ष २० कि अपसाना खातुन(८ महिने दुधे बच्चासहित),सोही स्थानकी वर्ष २५ कि रेहाना खातुन र भारत विहार,मोतिहारी जिल्ला,थाना चनपटिया–२ का वर्ष ६० का जहुर आलम रहेका छन् ।जहुर आलम चरेश तस्कर गिरोहका व्यक्ति हुने भने बच्चासहित पक्राउ परेका दुई नेपाली महिला चरेश भरिया हुन् ।

उनीहरुले एक खेपको चरेश सीमा कटाए वापत २५ सय देखि ३ हजार सम्म पाउने गरेको प्रहरीको अनुसन्धानमा खलेको प्रहरीले जनाएको छ ।यसैगरी गत साउन ५ गते पनि वीरगंज–१० आदर्शन गरबाट भारत,विहार,चनपटियाकी २३ वर्षिया प्रमिला देवीको साथबाट पनि लागु औषध इन्जेक्शन साढे ४ सय पिसका साथ बरामद गरी कारवाही गरिएको थियो ।

यसैवीच,पर्सा प्रहरीले मंगलवार मध्यान्ह १२ बजे रजतजयन्ती चोकबाट मकवानपुर,हेटौडा–१३ का १८ वर्षिय दिपेन्द्र खत्रीको साथबाट ६० पिस नाइट्रोभेट ६० पिस,भक्तपुर,अनन्त लिगेश्वर नगरपालिका–१० का २५ वर्षिय रोहण खडकाको शरिरबाट लागु औषध डाईजिल्याब ५१ पिस,फेनारगन ५१ पिस,लुपिजेसिक ५१ पस गरी १५३ पिस इन्जेक्शन फेला पारी आवश्यक कारवाही चलाइएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

त्यस्तै हिजै तनहु,भिमात गाउपालिका वडा नं ९ बस्ने वर्ष ३६ का राजेश राना भाटलाई होटल समरमा चेकजाँच गर्दाै टिटि २ सेट,सिरिन्च २ थान र प्रयोग नभएका टिटि ४ थानसहित पक्राउ गरिएको ब्योहोरा प्रहरीले जनाएको छ ।