प्रकाश दाहालको स्मृतिमा चितवनमा राष्ट्रिय मुवा थाई प्रतियोगिता हुने

चितवन, १७ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सुपुत्र स्वर्गीय प्रकाश दाहालको स्मृतिमा चितवनमा राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएको छ ।
आगामी माघ २८ र २९ गते भरतपुरको गेष्ट हाउस चौरमा दाहालको स्मृतिमा राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न लागिएको आयोजकले बुधबार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
सो अवसरमा चौथो मुवाँथाई प्रतियोगिता तथा वृहत तेकवान्दो प्रतियोगिता गरिने अल मार्सल आर्ट एकेडेमी चितवनका अध्यक्ष उत्तम गुरुङले जानकारी दिए ।
पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्ने प्रतियोगितामा देशभरीबाट खेलाडीहरु सहभागी हुने गुरुङको भनाइ छ । थाइल्याण्डमा प्रख्यात रहेको मार्सल आर्ट सम्बन्धी खेल मुवाँ थाईको तीन वटा संस्करण काठमाडौँ उपत्यकामा भएको भएपनि चौथो चितवनमा गर्न लागिएको हो ।
उक्त प्रतियोगिताले मार्सल आर्ट क्षेत्रमा नयाँ आयामहरु थप गर्दै नयाँ प्रतिभा समेत प्रस्फुटन गर्न मद्दत पुग्ने गुरुङको भनाइ छ । प्रतियोगितामा देशभरीबाट एक सय ५० भन्दा बढी खेलाडीहरु सहभागी हुने भन्दै गुरुङले आठ वटा तौल समूहमा पुरुषको र दुई वटा तौल समूहमा महिलाको प्रतिस्पर्धा हुने जानकारी दिए ।
प्रत्येक तौल समूहमा पहिलो हुने खेलाडीलाई १० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै, दोस्रो हुने खेलाडीलाई ६ हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र तथा तेस्रो हुने खेलाडीहरुलाई चार हजार रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ ।
खेलाडीहरुको खाने, बस्ने तथा ट्रयाक र सुटको व्यवस्था समेत आयोजकले गर्ने गुरुङले जानकारी दिए । रिङमा खेलाइने मुवा थाईको आयोजना अल मार्सल आर्ट एकेडेमी चितवन र नेपाल मुवा थाई संघले संयुक्त रुपमा गरेका हुन् ।