संकटमा वैदेशिक रोजगार

काठमाडौँ, १६ माघ । देशमा पर्याप्त रोजगारीको अवसर नभएकै अवस्थामा वैदेशिक रोजगारीमा पनि संकट आएको छ। नेपाली कामदार जाने प्रमुख मुलुकको आर्थिक समस्या र नेपाल सरकारका नीति र कार्यक्रमका कारण वैदेशिक रोजगारीमा संकट आएको हो। नेपाली कामदार प्रमुख गन्तव्य मलेसिया, साउदी, कतार, ओमन, बराइन, दुबई र कुवेत हुन्। वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारी सरकारी ऐन कानुन, निर्णय तथा कामदार आपूर्ति गर्ने राष्ट्रले भोग्दै आएको आर्थिक संकटलगायत कारण वैदेशिक रोजगारीमा समस्या आएको बताउँछन्।

पुराना गन्तव्यमा संकट उत्पन्न हुँदै गर्दा सरकारले नयाँ रोजगारीको गन्तव्य खोजी गर्न सकेको छैन। रोजगारीको अवसर पाउँदै आएका देशमा पनि सरकाले श्रम सम्झौता गरेर नेपाली कामदारको कोटा सुनिश्चित गर्न सकेको छैन। मन्त्रालयले नयाँ गन्तव्य खोजीदेखि वैदेशिक रोजगारको विषयमा विभागसँग छलफल नगर्दा पनि समस्या आएको उनको भनाइ छ। नयाँ गन्तव्यको खोजीमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा जिम्मा छ।

सरकारी निकायले सुरक्षित र बढी आम्दानी हुने गन्तव्यको खोजी र प्रवद्र्धनमा आक्रमक रूपमा अगाडि बढ्न नसकेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले स्वीकार गर्छन्। ‘हामीले अहिले निजी क्षेत्रको सहकार्यमा नयाँ गन्तव्यको खोजी अगाडि बढाएका छौं’, उनले भने, ‘रोजगारीमा जाने संख्या घटे पनि बढी आम्दानी हुने देश र कम्पनीको प्रवद्र्धन गर्नु हाम्रो लक्ष्य हो।’

बोर्डले कामदारसँग उनीहरूको सुरक्षाका अतिरिक्त नयाँ गन्तव्य प्रवद्र्धनका लागि जनही न्यूनतम १५ सय उठाउँदै आएको छ। सामाजिक सुरक्षा कोषमा अर्बौं रुपैयाँ जम्मा भए पनि नयाँ गन्तव्यको खोजी प्रयोग गर्न सकेको छैन। दुई पक्षीय श्रम सम्झौता गर्दै नेपाली कामदारको कोटा सुनिश्चित गर्ने अख्तियारी पाएको श्रम तथा रोजगार मन्त्रालयले कुनै पनि देशसँग श्रम सम्झौता प्रक्रिया अगाडि बढाएको छैन। केही महिना अगाडि मात्रै सरकारले जोर्डनसँग दुई पक्षीय श्रम सम्झौता गरेका छ। तर, यो देशमा वार्षिक पाँच सय कामदारको माग पनि नआउने वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान प्रथम उपाध्यक्ष कुमुद खनाल बताउँछन्।

मलेसिया र खाडीका ६ राष्ट्रसँग सरकारले दुई पक्षीय श्रम सम्झौता गर्न सकेका छैन। श्रम सम्झौता गर्दै नेपाली कामदारका लागि रोजगारी सुनिश्चत गर्न नसक्दा वैदेशिक रोजगारी संकटमा परेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ बताउँछन्।आजको अन्नपुर्णपोष्टमा खबर छ ।

Promise Education Consultancy