इन्धनको माग बढ्दो, ६ वर्षमा सञ्चिती शून्य हुने

काठमाडौँ, १६ माघ । अहिलेकै जसरी इन्धनको माग बढ्दै गए भण्डारण क्षमता (सञ्चिती) आगामी ६ वर्षमा शून्यमा पुग्ने भएको छ। हाल मासिक २० प्रतिशतका दरले इन्धनको माग बढिरहेको छ। नेपाल आयल निगमसँग ७१ हजार किलोलिटर इन्धन भण्डारण गर्न सक्ने भण्डार गृह छ।

तर, प्राविधिक दृष्टिकोणले त्यस परिमाणमध्ये करिब १० प्रतिशत इन्धन वर्षैभरि ट्यांकीमै मौज्दात (अन पम्पेवल) गरी राख्नुपर्छ। ७१ हजार किलोलिटरमध्ये १० प्रतिशत अन पम्पवेल काटेर बाँकी ६५ हजार किलोलिटर निगमसँग मौज्दात रहन्छ। यही ६५ हजार किलोलिटर इन्धन देशभर खपत हुँदै आएको छ। इन्धनको माग बढ्दै जाने र त्यो अनुपातमा भण्डार गृहको क्षमता विस्तार नभए आगामी आर्थिक वर्ष २०८०÷८१ मा भण्डारण क्षमता शून्यमा झर्ने निगमले आँकलन गरेको छ। ग्यासको भण्डारण गृह निगमसँग शून्य छ।

‘यसरी माग बढ्दै जाने हो र भण्डारण क्षमता विस्तार नगर्ने हो भने अबको ६ वर्षमा भण्डारण क्षमता शून्यमा झर्नेछ’, निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले भने,‘यो विषयलाई संवेदनशील भएर समयमै सोच्न आवश्यक छ।’ विकास निर्माण, सवारीसाधनको बढ्दो चाप, उद्योगमा हुने खपतका साथै प्रदेश सरकार निर्माण हुँदा सवारीसाधनको संख्या थपिनुका साथै विकास निर्माण पनि अत्यधिक गतिमा बढ्ने भएकाले सोहीअनुपातमा इन्धनको मागसमेत थपिने निगमको ठहर छ। उनका अनुसार आगामी ६ वर्षको वृद्धिदरलाई आधार मान्दा ९० दिन (३ महिना) लाई पुग्ने गरी कम्तीमा १० लाख किलोलिटर इन्धनको र दुई लाख १० हजार मेट्रिक टन खाना पकाउने एलपीजी ग्यासको मासिक भण्डारण क्षमताको भण्डार गृह निर्माण गर्नुपर्ने आवश्यक छ।आजको अन्नपुर्णपोष्टमा खबर छ ।