नदी किनारमा फोहोर फाल्दा जलचरलाई असर

आनन्द पोखरेल
गैंडाकोट,, १६ माघ । नवलपरासीको पूर्वी क्षेत्रमा रहेको गैंडाकोट नगरपालिकाबाट निस्कने फोहोरलाई सिधै नारायणी नदी किनारको जंगलमा लगेर फाल्ने गरिएको छ । गैंडाकोटको बजारबाट निस्केको फोहोरलाई सिधै नदी किनारमा फाल्दा फोहोरबाट निस्कने रसायनले नारायणी नदीमा बस्ने जलचरलाई समेत असर गर्ने गरेको छ ।
गैंडाकोट बजारबाट निस्कने फोहोरलाई वर्गिकरण नगरिकन नदी किनारमा फाल्ने गरिएको छ । सबै प्रकारको फोहोर नदी किनारमा फाल्नाले जलचरको प्राकृतिक वासस्थानको समेत विनास हुने गरेको संरक्षणकर्मीहरु बताउँछन् । प्लाष्टिकका सामानहरु नकुहिने तथा नदीमा मिसिएपछि जलचरको वासस्थान समेत विनाश हुने गरेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले बताए ।
‘सहरको फोहोर सिधै लगेर नदी किनारमा फाल्दा त्यहाँबाट निस्कने खराब खालका रसायन पानीमा मिसिने गर्छ’ खड्काले भने, –‘जुन रसायन पानीमा मिसिदा जलचरहरुलाई नकारात्मक असर पर्ने गर्दछ ।’ प्लाष्टिकहरु पानीमा रहेको ढुंगामा बेरिनाले त्यहाँ लेउहरु जम्न नपाउने र जैविक विविधतामा समेत असर पर्ने खड्काको भनाइ छ । साना जलचरहरुको वासस्थान नष्ट भएपछि ठूला जलचरहरुलाई समेत यसले प्रत्यक्ष रुपमा असर गर्ने खड्काले बताए ।
नदी किनारमा सहर बजारका फोहोरहरु फाल्ने परम्पराको अन्त्य गर्नुपर्ने खड्काको भनाइ छ । नवलपरासीको गैंडाकोट मात्रै नभएर नारायणगढको केही स्थानको फोहोर पनि सिधै खोलामा फाल्ने गरिएको छ । मानवीय कारणले प्राकृतिक सम्पदामाथी असर पर्नाले भविष्यमा मानव जीवनमा नै शंकट आउनसक्ने संरक्षणकर्मीहरुको चिन्ता रहेको छ ।
गैंडाकोट क्षेत्र सहरीकरण हुँदै गएपछि त्यहाँबाट निस्कने फोहोरलाई नगरपालिकाकै वडा नम्बर ९ मा पर्ने थुम्सीको जंगलमा लगेर फाल्ने गरिएको छ । पहिलेदेखि नै त्यस क्षेत्रमा फोहोर फालिएकोले यसको व्यवस्थापनको लागि नगरकार्यपालिकाले समिति बनाएर काम अगाडि बढाएको गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेल बताउँछन् । गैंडाकोटको फोहोर व्यवस्थापनको लागि डम्पिङ साइट निर्माण गर्न समिति बनाएर वडा नम्बर ७ का वडा अध्यक्षलाई जिम्मेवारी दिएकोले चाँडै नै गैंडाकोट क्षेत्रको फोहोर व्यवस्थापन हुने पौडेलको भनाइ छ ।
गैंडाकोट नगरपालिकाको वडा नम्बर ९ मा रहेको हनुमान मन्दिर धार्मिक वन क्षेत्रमा फोहोर फाल्न मनाही छ भनेर नगरपालिकाले होर्डिङ बोर्ड टाँसेको भएपनि आफैले फोहोर फाल्दै आएको छ । नगरपालिकाले फोहोर फाल्ने ठाउँ नारायणी नदीको किनार र पूर्व पश्चिम राजमार्गको छेउमा नै रहेको छ । मुख्य राजमार्गसँगै जोडिएको ठाउँमा फोहोर थुपारिँदा त्यहाँबाट फैलिने दुर्गन्धले सडकमा यात्रा गर्ने यात्रुहरुलाई समेत सकस हुने गरेको छ ।
स्थानीय तहमा जनप्रतिनिधि आएको नौ महिना बितिसक्दा समेत गैंडाकोटको फोहोर जंगलमा फालिदा यसले नगर र जिल्लाको बारेमा नै नकारात्मक सन्देश फैलाउने तर्फ स्थानीय बासिन्दा बेलैमा सचेत हुनुपर्ने देखिन्छ ।