पर्यटकीय गन्तव्य बन्दै धनगढा पोखरी

चितवन, १६ माघ । भरतपुर महानगर पालिकाको वडा नं १२ मा रहेको धनगढा पोखरी र त्यहाँ निर्माण भएका मठमन्दिरका कारण उक्त स्थान पर्यटकीय क्षेत्रको रुपमा विकसित हुँदै गइरहेको छ ।
करिब पौने एक बिघाहा क्षेत्रफलमा रहेको धनगढाको आकर्षक उद्यान, पोखरी र विभिन्न देवी देवताका मन्दिरले यो स्थान पर्यटकीय गन्तव्यको रुपमा विकास भईरहेको हो । भरतपुरको चौवीसकोठीबाट करीब ३ किलोमिटर पूर्वमा पर्ने धनगढा कुनै तीर्थस्थल र धाम भन्दा कम देखिदैन । यसको सौन्दर्यताबाट लोभिएर यहाँ घुम्न आउने पर्यटकको संख्यामा दिनानुदिन बृद्धि भईरहेको धनगढा एकीकृत विकास समितिका अध्यक्ष लेखराज पन्तले बताए ।
झट्ट हेर्दा काठमाडौंको रानीपोखरीको झल्को दिने गरी यहाँ निर्माण भएको पोखरीमा कलात्मक तरीकाले बनाईएको मूलद्धार र त्यहांँबाट पोखरीको वीचमा देखिने लक्ष्मी नारायणको मन्दिरले पोखरीको शोभा बढाएको छ । मन्दिरमा जानको लागि पोखरीको बीचमा पिल्लर राखेर बाटो बनाईएको छ । झण्डै १४ कट्ठा क्षेत्रफलमा रहेको यो क्षेत्रमध्ये ६ कट्टामा क्षेत्रफल पोखरीले ढाकेको छ । पोखरीको वरिपरी पर्यटकको लागि ठांँउ ठाउंँमा विश्रामस्थल राखिएको छ। मन्दिरलाई कम्पाउण्ड गरी सुरिक्षत बनाईएको छ ।
पोखरी परिसरभित्र विभिन्न प्रकारका फूल र फलफूलका बोटहरुले जोकोही पनि मन्त्रमुग्ध हुने गर्दछन् । अघिल्ला बर्षहरुमा निशुःल्क रुपमा पर्यटकहरु आउने गरेतापनि गत बैशाखबाट थप व्यवस्थित गरी आम्दानीको श्रोतको विकास गर्न २० रुपैयाँ टिकटको व्यवस्था गरिएको छ भने बृद्धबृद्धालाई निशुल्क प्रवेश व्यवस्था गरिएको पन्तले बताए ।