मन्दिरको गहना चोरी

बनेपा,१५ माघ । काभ्रेपलाञ्चोकको बनेपा–४ उग्रचण्डीनालास्थित करुणामाई मन्दिरमा रहेका मूल्यवान् चाँदीका गरगहना चोरी भएको छ।

गएराति चाँदीका पाउजु, सिक्री, ताज मुकुट चोरी भएको इलाका प्रहरी कार्यालय, बनेपाका प्रहरी निरीक्षक सुनिलजङ शाहले जानकारी दिए। उनका अनुसार मन्दिरबाट दुई लाख रुपैयाँ बराबरको गरगहना चोरी भएको अनुमान छ। स्थानीयवासीका अनुसार नेवारी समुदायको तान्त्रिक देउता आन्नदेव पनि चोरी भएको छ।

सो मन्दिरमा भक्तजनले चाँदीका गहना चढाउँछन्। आज बिहान भक्तजनले त्यहाँ पुग्दा चोरी भएको थाहा भएपछि प्रहरीलाई जानकारी दिएका थिए। प्रहरी निरीक्षक शाहले घटनाको विस्तृत अनुसन्धान भइरहेको बताए। रासस