प्रदेश प्रहरी प्रमुखमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) खटाउने

काठमाडौँ, १५ माघ । सरकारले प्रदेश प्रहरी प्रमुखमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) खटाउने भएको छ । यसका लागि सात डिआइजीको दरबन्दी थप गरिएको छ । प्रदेश सरकारको मन्त्रालयमा प्रशासन प्रमुख सहसचिव रहने व्यवस्था बनाइएपछि सरकारले प्रदेश प्रहरी प्रमुखमा डिआइजी खटाउने भएको हो ।सातवटै प्रदेश प्रहरी प्रमुखमा अहिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) खटाइएको छ ।आजको नयाँपत्रिकामा खबर छ ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद दुवाडीले वरीयता मिलाउनुपर्ने भएकाले प्रदेश प्रहरी प्रमुखका रूपमा डिआइजी खटाउन लागिएको बताए । ‘प्रदेशको मन्त्रालयमा सचिवको भूमिकामा सहसचिव रहने व्यवस्था गरिएको छ । त्यसैले हाल प्रदेशमा खटाइएका एआइजीसँग वरीयता नमिल्ने देखियो । अब प्रदेश प्रमुखका रूपमा खटिएका एआइजी फिर्ता गर्ने र डिआइजी खटाउने व्यवस्था भएको छ,’ उनले भने ।