वामगठबन्धन सरकार हुदाँका चुनौती

बाबुराम खरेल
नेपालका कम्युनिष्टहरुको परिक्षाको घडी शुरु भएको छ । दोष अरुलाई थोपरेर हुने अवस्था अब रहेन । राजा राणा र कांग्रेसलाई दुत्कारे र दोष अरुलाई थोपरेर अब हुदैन । देश र जनताको पक्षमा अब बोलेर हुदैन काम गरेर देखाउन सक्नु पर्दछ ।
जनताले भर्खरै सम्पन्न भएका तिनै तहका निर्वाचनमा स्थानिय, प्रादेशिक र संघिय चुनावमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनलाई अर्थात बाम गठवन्धनलाई स्पष्ठ जनादेश दिएका छन् । ७५३ स्थानिय तहका सरकारमा पनि उनीहरुको बहुमत्व रहेको छ , त्यसैगरी ७ वटा प्रदेश सरकार मध्य २ नं. प्रदेश छोडेर १, ३, ४, ५, ६ र ७ नं. प्रदेशमा पनि वामपंथीहरुकै सरकार वन्न गइरहेको छ । यसरी नै कांग्रेसको जतिसुकै लिङ्गरिङ गरेर पर धकेल्ने प्रपन्च भएता पनि फागुनको दोश्रो हप्ता भित्रै क. ओलीको नेतृत्वमा दुइ तिहाइ वहुमत नजिक–नजिक रहेको वाम गठवन्धन सरकार वन्दैछ । त्यसैले अब नेपालका कम्युनिष्टहरुको लागि चुनौतिका अजङ्गका पहाडहरु तेर्सिरहेका छन ।
नेपाल विश्वका धेरै देशको तुलनामा प्रकृतिले निकै साथ दिएको देश हो । हाम्रो देश हिमाल, पहाड, तराइ मिलेर वनेका, नदिनाला वन जंगल, हावापानी सबैले अत्युत्तम र अनुपम रहेको छ । हिउ नै हिउले ढाकिएका हिम मरुभूमि र वालुवै वालुवाका भूभाग भएका कतिपय देशले निकै छोटो समयमा जादुमय छलाङ्ग लगाएको हामीले देखेका छौ , तर यसबीचमा नेपाल गरीवी अभाव र पछौटे छ किन ? यसको व्यवहारिक निष्कर्ष अब नेपालका कम्युनिष्टहरुले दिनै पर्दछ । अतः अब नेपालका कम्युनिष्टहरुका दिन गन्ति शुरु भै सकेको छ । काम गर या मरको अवस्था चुनौतिको रुपमा उनीहरुले लिन जरुरी छ ।
भाषण ठोक्नमा सिपालु छन कम्युनिष्टहरु , सिद्धान्त र बैचारिक वहसमा अतितर्कवादीता प्रदर्शन गर्दछन उनीहरु, तर अब काम गर्न सक्छन कि सक्दैनन उनीहरुले, देश विदेश सब तिरको नजर यही विषयमा परिरहेको छ ।
जनतालाई कुरा र भाषण होइन काम र माम चाहिएको छ , नेपालमा दशकौ बाट झाङ्गिदै आएको डरलाग्दो राक्षसि भष्ट्राचार, वेथिति र कर्मचारीतन्त्ररुपी चाकडी, चाप्लुुुसी, ढिलासुस्ति र अझभनौ कर्मचारीमा रुपान्तरणको कमि र उनीहरुमा अझै रहेको सामन्ति प्रवृत्ति यो चुनौतिको पर्खालको रुपमा रहेको छ । नेपालमा स्थायी सरकार भनिने कर्मचारीतन्त्रको मानसिकतामा परिवर्तन आजको नविन नेपाल निर्माणको पहिलो सर्त हो ।
परिवर्तनको थोरै मात्र अनुभुति जनताले स्थानिय तहको ढिलासुस्तिको कामबाट अझै पाइसकेका छैनन, यही रफ्तार र गति हो भने सम्वृद्ध नेपाल र गतिशील नेपालको यात्रा कठीन देखिन्छ ।
हामी नेपालीको पहिचान अब काम र गतिमा खोजिनु पर्दछ । कागजमा काम गरेको देखाउने फर्जि प्रगति विवरण, फर्जि विल भर्पाइ र लेखोटमा फुलबुट्टा यो नेपालीपन अबको सरकारले वन्न दिनु किमार्थ हुदैन ।
देश बिकासको तगारो हाम्रो मानसिकता, कार्यशैली र कार्यपद्धति नै हो । छरितो, प्रभावकारी र कामकाजि कार्ययोजना, मितव्ययी र व्यवस्थित कार्यशैलीलाई जनशैलीमा रुपान्तरण आजको आवश्यकता हो । सामाजिक न्याय सहितको शुशासन, सभ्य सुसस्कृत सम्वृद्ध नेपाल र समाबेसी लोकतन्त्र सुदृढीकरण हाम्रा अभिभाराहरु हुन ।
हाम्रा छिमेकी देशको तरक्की, प्रगति र उन्नतिबाट लाभ लिन सक्यौ भने मात्र हाम्रो आफ्नो अग्रगामी लक्ष्य सहज र सपाट वन्न जानेछ । संसारकै महाशक्ति अर्थतन्त्रको रुपमा विकसित र शक्तिशाली चीन र भारतबाट सन्तुलनकारी र सहिष्णु परराष्ट्र नीति अख्तियार गरेर अघि बढन सकेको अवस्थामा मात्र वामगठबन्धनको सरकारले आशातित सफलता प्राप्त गर्न सक्नेछ । यद्यपि चुनावको स्पष्ट जनादेश आइसके पछि पनि कांग्रेस लोकतन्त्रको दुहाइ दिदै सत्ता लम्व्याउन खोजेको देखिन्छ । यही र यस्तै अवस्था भोलिका दिनमा पनि कुनै न कुनै वहानामा संभवत कतिपय सरकारले चाल्ने कदमहरु र योजनाहरुमा ढिला पार्न र काम गर्न नदिने हर्कत अबको प्रतिपक्ष कांग्रेसको हुनेछ र त्यसलाई चिर्दै अघि बढने सवालमा रणनैतिक र कुटनैतिक पहलकदमी लिन सकिएन भने चाहेर पनि यो वामगठबन्धनको कामको रफ्तार अहिले जस्तै ढिलोढालो हुन जानेछ । यदि यो अवस्था हुनेहो भने जनताको धैर्य टुटन धेरै समय लाग्ने छैन ।
यदि अब पनि काममा प्रगति दिन सकिएन भने दिनगन्ति अवश्य शुरु हुन जान्छ र यो भनेको वामगठबन्धनको सरकार असफल हुनु हो । वामगठबन्धनको सरकार असफल हुनु भनेको देशमा पुन अर्को दक्षिणपंथी राजावादी वा अरु नै खालको अधिनायकत्व निर्माणको लागि माहौल वन्ने र वातावरण निर्माण हुन जाने खतरा हो । किनकि जनताले हरेक मोड र क्षणहरुमा विकल्प खोजि रहेको हुन्छ । जसरी कांग्रेसको विकल्प वामगठबन्धन भयो त्यसरी नै यो सरकारको विकल्प कुनै प्रकारको दक्षिणपन्थी विकल्प नै हुन जानेछ, यो विषयको हेक्का हुन जरुरी छ वामगठबन्धनलाई ।
२०४६ सालपछि वनिएको हरेक सरकारले राजनैतिक स्थिरता दिन नसकेको र देश अशान्ति अराजकता र द्वन्दको ठूलो भुमरीबाट अगाडी बढेको तितो यथार्थ हाम्रो सामु छदैछ । यसकारण यस पटक बामगठबन्धन सरकारको सत्ता संचालनको समय निकै महत्वपूर्ण रहेको छ , छिटो छरितो र जनताप्रति जवाफदेही शुसासन र राजनैतिक स्थिरता र विकासले मात्र जनतालाई विश्वास र आस्वस्थ पार्न सकिने छ ।
देशका दुइ ठूला पार्टीहरु नेपाली राजनैतिक परिवर्तनमा जसका महत्वपूर्ण भूमिका रहेका छन, नेकपा एमाले र नेकपा माओवादी केन्द,्र यी दुइ शक्तिको नेपालको सामाजिक र राजनैतिक परिवर्तनमा २००७ साल देखि नै निकै वलिदान र कुर्वानी रहेको कारण, त्यो संघर्षमय विरासतको पनि कारण नेपाली जनताहरुले यसपटक मिलेर चुनाव लडेको अवस्थामा दुइ तिहाइ करीव वहुमत दिएका छन , यो कुरालाई वामगठवन्धनको नेतृत्व तहले हल्का रुपले लिने गल्ति गर्न हुदैन र यो विषयलाई गम्भिरतापूर्वक लिन जरुरी छ । यसरी नै अहिले वामगठबन्धनको पक्षमा वहुमतको जनादेश जनताले प्रदान गरेको सवाललाई सामान्य संसदीय चुनावको स्वभाविक परिणामको हिसावले किमार्थ हेरिनु हुदैन । यो चालु वर्गसंघर्षको वा आन्दोलनको एउटा रुप हो र यसलाई वामगठबन्धनका नेता र कार्यकर्ताहरुले हल्का रुपमा लिन हुदै हुदैन र नेपालमा समाजवादी समाज निर्माणको प्रारम्भिक मार्ग चित्रको रुपमा तथा समाजवादी चेत र वैचारिक धरातललाई कसरी सुदृढ पार्न सकिन्छ भन्ने रुपमा लिन जरुरी छ ।
यहाँ धेरै वेथितिका चाङ्ग छन, सुकुम्वासी समस्या छ, डरलाग्दो वेरोजगारी समस्या छ , भष्ट्राचार , व्यभिचार , ढिलासुस्ति , गरीवी, पछौटेपन, सामाजिक विभेद, विकासबाट विभेदीकरणमा पारिएको क्षेत्र लिङ्ग सम्प्रदाय आदि रहेका छन । संघियता र स्थानिय सरकारलाई नयाँ हिसावले चलाउने अनुभवको कमि छ । यातायात संजालको फैलावट , विद्युतिकरण , औद्यकीकरण यावत कुरा र काममा तदारुकता र अभियानको आज देशले माग गरेको छ । तर शुरुवाति अवस्था हेर्दा लाग्दछ अझै पनि छोटा मसिना कुराले हाम्रा वाम नेताहरु अल्झिरहेका छन । अझै सम्म उनीहरुले चुनावमा गरेको एउटै कम्युनिष्ट पार्टी वनाउछौ भन्ने विषयलाई र प्रतिवद्धता पुरा गर्न अलि तदारुकता देखाइ रहेका छैनन । उनीहरुको चालढाल र कामको गति हेर्दा देश जनता र कार्यकर्ताको म्यान्डेड अनुुुसार उनीहरु सिर्जना र रफ्तारमा जाने छाट देखिएको छैन उनीहरु खाली कर्मकाण्डी र तदर्थवादी मात्र देखिन्छन । विहानीले उज्वलमय दिवाको आधार दिने छाट देखिएन । यदि यही गति हो भने वामगठबन्धनको आगामी यात्रामा गति आउदैन कि ? तथापि यो सफलहोस वाम गठबन्धनले ढिलो गतिलाई समिक्षा गर्दै अगाडी बढाओस र देशमा सम्बृद्धि, शुशासन, विकास र स्थिरता प्रदान गरोस ।

।। लेखक सौराहा अनलाईनका नियमित स्तम्भकार हुन् ।।