पुसमा भ्रमण र अतिथि सत्कारका लागि १ करोड ७० लाख खर्च

काठमाडौँ,१४ माघ । राज्यका विभिन्न निकायले एक महिनामा राज्यकोषबाट भ्रमण र अतिथि सत्कारका लागि मात्रै १ करोड ७० लाख रुपैयाँ खर्च गरेका छन् । अर्थ मन्त्रालयका अनुसार पुस महिनामा मात्र राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र विभिन्न निकायका प्रमुखको भ्रमण खर्चका लागि राज्यकोषबाट उक्त रकम निकासा भएको हो ।

अर्थ मन्त्रालयबाट पुस महिनामा भएकोनिकासा तथा रकमान्तर विवरणअनुसार भ्रमण तथा स्वागत खर्चका लागि सबैभन्दा बढी रकम निकासा माग्ने निकाय राष्ट्रपति कार्यालय हो । राष्ट्रपतिको नेतृत्वमा २७ मंसिरदेखि युएईमा गएको भ्रमण दलका लागि मात्र ७७ लाख ८२ हजार रुपैयाँ परराष्ट्र मन्त्रालयको नाममा निकासा भएको छ । प्रधानमन्त्री र मन्त्रीले पनि एक महिनाको अवधिमा जिल्ला भ्रमण खर्चमा ५० लाख रुपैयाँ सकाएका छन् ।

बाढीपीडितलाई १ अर्ब ४ करोड निकासा

अर्थ मन्त्रालयका अनुसार गत साउनमा आएको भीषण वर्षा र त्यसपछि आएको बाढीबाट पूर्ण रूपमा घर क्षति भएका परिवारलाई राहत वितरण गर्न १ अर्ब ४ करोड रुपैयाँ रकमान्तर निकासा भएको छ ।

सम्बन्धित विपद् व्यवस्थापन समितिले यकिन गरेको तथ्यांकका आधारमा दोहोरो नपर्ने गरी रकम वितरण गर्ने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नाममा उक्त रकमान्तर निकासा गरिएको हो ।

पुस महिनामै सरकारले सातवटा प्रदेशमा व्यवस्थापिका तथा कार्यपालिका सञ्चालनका लागि अस्थायी कार्यालय र आवास भवन व्यवस्थापन गर्न १ अर्ब ५ करोड रुपैयाँ रकमान्तर निकासा गरेको छ । यो रकम हरेक प्रदेशलाई १५–१५ करोड रुपैयाँका दरले वितरण गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।