शीतलहरले होइन, गरिबीले मारेको

काठमाडौँ,१४ माघ । यस वर्ष पनि शीतलहरले पूर्वी तराईका विपन्न बस्तीमा रुवाबासी छाडेर गयो। प्रदेश २ सहित मधेसका २२ जिल्ला शीतलहरबाट प्रभावित भए। बाढीपीडित, किसान, बालबालिका, ज्येष्ठ नागरिक र दलित बस्ती उच्च जोखिममा परे। गृह मन्त्रालयको पछिल्लो विवरणअनुसार सप्तरी, सिरहा र रौतहटमा गरी ४८ जनाले ज्यान गुमाए। ६ वर्षयता शीतलहरबाट ज्यान गुमाउनेको संख्या ११६ पुगेको छ। यस वर्ष पनि सरकारले शीतलहरको मारमा परेकालाई २ करोड २२ लाख रुपैयाँ बराबरको राहत वितरण गर्ने निर्णय गर्‍यो। एक जिल्लाबराबर १० लाख रुपैयाँको कम्बल, दाउरालगायत न्यानो सामग्रीसमेत बाँडियो। चिकित्सकले जाडोबाट बच्ने विभिन्न उपाय सुझाए।आजको अन्नपूर्णपोष्टमा खबर छ ।

केही राजनीतिक दलका भ्रातृ संगठन, एनजीओ र कलाकारले पनि ब्ल्यांकेट बाँडे। मानवअधिकार आयोगले स्थलगत अनुगमन गरी बाढीपीडित, मधेसका दलित बस्ती तथा न्यून आयस्रोत भएका मानिस उच्च जोखिममा रहेको भन्दै सरकारको ध्यानाकर्षण गरायो। शीतलहरबाट जोगाउन यथाशीघ्र तत्कालीन र दीर्घकालीन उपाय अपनाउन सर्वोच्च अदालतले सरकारलाई यसअघि नै आदेश दिइसकेको हो। राष्ट्रिय आपतकालीन कार्य सञ्चालनको बैठक बस्यो र शीतलहरबाट जोगिने विभिन्न उपायसहितको सूचना जारी गर्‍यो।

यसपालि एउटा नयाँ काम थपियो। त्यो हो, शीतलहरपीडितको घरमा स्थानीय जनप्रतिनिधि नै ब्ल्यांकेट र दाउरा लिएर पुगे। महोत्तरीको गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले १५ दिनसम्म निरन्तर शीतलहरपीडितलाई दाउरा र ब्लांकेट बाँडे। उनले भने, ‘विपन्न मुसहर बस्तीमा करिब एक हजार ब्लांकेट र २० ट्र्याक्टर दाउरा वितरण गर्‍यौं।’

यो चक्र ६ वर्षदेखि चलिरहेको छ। शीतलहरले मानिसको ज्यानै लिन थालेपछि मात्रै उद्दारमा जुट्ने परम्परा दोहोरियो। यसको दीर्घकालीन समाधान अझै हुन सकेको छैन। सरकारी प्रयासहरू निस्प्रभावी भइरहेको देखिन्छ। मधेसका विपन्न समुदाय शीतलहर, बाढी, सर्पदंशजस्ता तेहेरो समस्यासँग जुधिरहेका छन्। जुन जिल्ला मानव विकास सूचकांकमा सबैभन्दा पछाडि छ, त्यही जिल्लाका नागरिक प्रत्येक मौसमी फेरबदलसँगै मृत्युको मुखमा पुगिरहेका छन्। यसको अन्तर्यमा मौसम र भौगोलिक बनावट मात्रै दोषी नभएको विज्ञहरू बताउँछन्।

प्रत्येक वर्ष शीतलहरले विपन्न वर्गको मृत्यु हुनुको मुख्य कारण गरिबी भएको बताउँछन्, रौतहट क्षेत्र २ का प्रतिनिधिसभा सदस्य मोहम्मद आफताव आलम। भन्छन्, ‘गरिबीको दर बढी छ। लगाउने न्यानो कपडासमेत छैन। यही कारण मृत्यु भएको हो।’ अघिल्ला वर्ष ६३ जनाको मृत्यु भएको रौतहटमा यस वर्ष पनि १६ जनाको मृत्यु भयो। तथ्यांक विभागका अनुसार साक्षरतादर सबैभन्दा कम ४१.७ प्रतिशत रहेको रौतहट मानव विकास सूचकांकमा पनि पछाडि छ।

सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार रौतहटमा कुल जनसंख्या ६ लाख ८६ हजार ७ सय २२ मध्ये ४२.२ प्रतिशत मानिस गरिब छन्। सिरहाको कुल जनसंख्या ६ लाख ३७ हजार तीन सय २८ मध्ये ४१.८ प्रतिशत मानिस गरिब छन्।