बाम गठबन्धनले भोली मुख्यमन्त्रीहरुको टुंगो लगाउने

काठमाडौं,१३ माघ । नेकपा एमाले र माओवादी केन्द्रले भोली (आईतबार) मुख्यमन्त्रीहरुको टुंगो लगाउने भएको छ । राष्ट्रियसभा निर्वाचन र प्रादेशिक सरकार गठनमा सहमति जुटाउने जिम्मेवारी पाएको वाम गठबन्धनको कार्यदल बैठक आइतबार बिहान बस्ने भएको छ।

प्रदेश सरकार गठनमा मुख्यमन्त्री बाँडफाँट गर्न शीर्ष नेताले दिएको निर्देशन अनुसार एमाले र माओवादी केन्द्रको कार्यदलले आइतबार बिहान छलफल गर्नेछ। बैठक सिंहदरबारस्थित एमाले पार्टी कार्यालयमा बिहान ११ बजे बस्नेछ।

राष्ट्रियसभा निर्वाचनको सिट बाँडफाँट सहमतिमै टुंगो लगाएको कार्यदललाई वाम गठबन्धनका शीर्ष नेताले प्रादेशिक सरकार गठनको समेत जिम्मेवारी दिएको छ।

कार्यदलको यसअघिको बैठकले प्रदेश सरकार निर्माणको मापदण्ड तय गरेको थियो।

प्रदेशमा दलगत स्थिति, एकताको स्पिरिट, योग्यता र सन्तुलनलाई केन्द्रमा राखेर कार्यदलले प्रदेश मुख्यमन्त्रीको भागबन्डा गर्नेछ। त्यस्तै, प्रदेशको सभामुख, उपसभामुख तथा मन्त्रीहरु लगायत अन्य विषयमा समेत सहमति जुटाउनेछ।

कार्यदलको यसअघिको बैठकले जम्मा सदस्य संख्याको १० प्रतिशतको मात्र प्रादेशिक मन्त्रिमण्डल बनाउने सहमति गरेको थियो। संघीय सरकारको निर्माणसँगै धेरै आर्थिक व्ययभार राज्यलाई पर्ने भन्दै कार्यदलले बढीमा जम्मा सदस्य संख्याको १० प्रतिशत मात्रको मन्त्रिमण्डल गठन गर्ने सहमति गरेका छन्।

 

Promise Education Consultancy