आईटीका विद्यार्थीहरुलाई वेब साइट बनाउने तालिम

चितवन, १३ माघ । सूचना र प्रविधि विषय लिएर स्नातक गर्दै गरेका विद्यार्थीहरुलाई लक्षित गर्दै भरतपुरमा तीन दिने वेब साइट निर्माण तालिम सञ्चालन गरिएको छ ।
सोमबारसम्म सञ्चालन हुने उक्त तालिममा आई टी विषय पढाउने चितवनका आठ वटा कलेजका करिब ५० जना विद्यार्थीहरु सहभागी भएका छन् । तालिममा सहभागी भएका विद्यार्थीहरुलाई वरिष्ठ प्रोग्रामर हरिशचन्द्र खरेलले सहजीकरण गरिरहेका छन् । भरतपुरमा भएको तालिमको उद्घाटन गर्दै चितवनका जिल्ला शिक्षा अधिकारी मनोज गैरेले पछिल्लो समय विद्यार्थीहरुलाई व्यवहारिक ज्ञानको कमी भइरहेको बेलामा तालिम दिनु सकारात्मक पक्ष भएको बताए ।
आईटी विषय लिएर स्नातक उत्तिर्ण गर्दा समेत विद्यार्थीहरुले वेब साइट निर्माण गर्न नसक्ने अवस्था रहेकोमा तालिम पश्चात विद्यार्थीहरुमा सैद्धान्तिक सहित व्यवहारिक ज्ञान हुनाले दक्षता वृद्धि हुने गैरेले बताए । तीन दिने तालिमका क्रममा सहभागी विद्यार्थीहरुलाई वेब टेक्नोलोजी सम्बन्धी सबै कुराहरु सिकाइने फ्युचरजेन आईटी सोलुसनका प्रोजेक्ट म्यानेजर कमल गुरागाईँले बताए । विद्यार्थीहरुलाई तीन दिनमा दक्ष बनाउने तरिकाले तालिम प्रदान गरिने उल्लेख गर्दै गुरागाईँले केही समयपछि आवासीय सुविधा सहित कार्यक्रम गर्ने बताए ।
नेपाल भरीका आईटी विद्यार्थीहरुलाई सहभागी गराएर वृहत तालिम दिइने फ्युचरजेन आईटी सोलुसनका अध्यक्ष नविन श्रेष्ठले बताए ।