राप्तीको नगर सभाबाट तीन विधेयक पारित

भण्डारा १२ माघ । पूर्वी चितवनको राप्ती नगरपालिकाको शुक्रवार सम्पन्न दोस्रो नगरसभाले महत्वपूर्ण ३ वटा बिधेयक पारित गरेको छ । नगरसभाले कृषि,शिक्षा र सहकारी विधेयक पारित गरेको हो । नगरसभामा नगर मेयर प्रभा बरालले नगरको आर्थिक विकास, सामाजिक विकास,पुर्वाधार विकास,वातावरण तथा विपद् व्यवस्थापन र संस्थागत विकासका लागि विनियोजित बजेटका बारे जानकारी गराइन । उनले राप्ती नगरपालिकालाई आगामी पाँच वर्ष भित्र विषादी रहित बनाउने, अण्डा, मासु र दुधमा आत्मनिर्भर बनाउने, डाक्टर बिहिन रहेको नगरपालिकालाई स्वास्थ्य संस्थाहरुको स्तरोन्नती गरी डाक्टरको व्यवस्था गर्ने,प्रत्येक वडामा स्वास्थ्य चौकी निर्माण गर्ने योजना रहेको जानकारी दिईन । नगरपालिकाले आर्थिक विकासका लागि १ करोड ६८ लाख, सामाजिक विकासका लागि ४ करोड २५ लाख, पुर्वाधार विकासका लागि १२ करोड ८८ लाख, संस्थागत विकासका लागि १ करोड ६४ लाख रुपैयाँ विनियोजन गरिएको बरालले दिइन । नगर सभामा आर्थिक ऐन, नगर सभा कार्य संचालन कार्य्विधी, नगरपालिकाबाट गरिने अनुगमन निर्देशिका,एफएफ रेडियो व्यवस्थापन तथा संचालन कार्यविधि लगायतका विषयमा दफाबार छलफल भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागाँईले जानकारी दिए । नगर सभामा उपमेयर इमानसिंह लामाले नगरको समग्र विकासका लागि गुरुयोजना बनाएर काम गर्ने बताए । पाँच वर्ष भित्र नगरलाई समृद्ध बनाउने नगरपालिकाको योजना रहेको उनले बताए । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य दाबा दोर्जे लामाले राप्ती नगरपालिका क्षेत्रको प्राकृतिक स्रोत र साधनको सदुपयोग गर्दै नगरलाई समृद्ध बनाउनुपर्नेमा जोड दिए ।