समाजवाद उन्मुख शिक्षा

रमेश प्रसाद अधिकारी ‘सुरज’
विषय प्रवेश
सम्पुर्ण मुक्तिकामी शिक्षकहरुको साझा संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठनका देश ब्यापी जिल्ला अधिवेशनहरु हुदैछन भने प्रदेश र राष्ट्रिय अधिवेशन सम्पन्न हुने क्रममा छन् । जिल्ला र राष्ट्रिय अधिवेशनहरु विचार निर्माण र सश्लेषणका महाविद्यालय र विश्वविद्यालयहरु मानिन्छन् ।यसै क्रममा यही २०७४ माघ १३ गते चितवनको जिल्ला सम्मेलन/अधिवेसन ने.क.पा.(मा.के.)का श्रद्घेय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री क.पुष्प कमल दाहाल (प्रचण्ड) द्घारा नारायणी मा.वि.भरतपुरमा समुद्घाटन हुदैछ ।
२०६२/०६३ को आन्दोलनले नेपाली क्रान्तिको रणनीतिक लक्ष्यलाई सिफ्ट गरि जनवादी क्रान्तिका आधारभुत कार्यभार पुरा गरि समाजबादी क्रान्तिको चरण तर्फ अगाडि धकेल्यो । यही कुरालाई आत्मसाथ गर्दै नेपालको सम्बिधान २०७२ मा समाजबाद उन्मुख राज्यको परीकल्पना गरीएको छ । हाल मुलुकमा समाजवाद उन्मुख राज्यमा समाजवाद उन्मुख अर्थब्यवस्था र समाजवाद उन्मुख शिक्षा कस्तो हुने भन्ने चर्चा चलिरहेको छ । यहाँ शिक्षक संगठनको अधिवेशनको संघारमा समाजवाद उन्मुख शिक्षाको विषयमा छलफल गर्न खोजिएको छ ।
सामाजवाद उन्मूख शिक्षा
नेपालको संविधान २०७२ को घोषणा सँगै औपचारिक रुपमा जनवादी शिक्षा नीतिका आधारभूत मान्यतालाई पक्रदै समाजवाद उन्मूख वहुप्राविधिक शिक्षाको आवश्कता देखा परेको छ । उत्पादनका साधन र सम्बन्धमा आउने परिवर्तन सँगसँगै क्रान्तिको प्रकृतिमा परिवर्तन आउँदछ । जस अनुसार शिक्षाको प्रकृति पनि बदलिदैँ जान्छ । अहिले संक्रमणकालिन अवस्थामा देखा परेको अन्यौलतालाई चिर्दै नयाँ समयानुकुल र संघिय संरचनाकुल रोजगारीका लागि अर्काको व्यवसायको ढोका चाहर्ने शिक्षित वेरोजगार उत्पादन गर्ने नभई पुँजी निर्माण तथा परिचालन गर्न सक्ने आत्मनिर्भर उद्यमशील जनशक्ति उत्पादन गर्ने, सामाजवाद उन्मूख शिक्षाको वाटो तय गर्नुपर्ने आवश्यक छ । समाजवाद उन्मूख शिक्षा भनेको पुँजी निर्माण तथा परिचालन गर्ने क्षमता भएको जनशक्ति उत्पादन गर्ने शिक्षा हो । जुन शिक्षाले नेपालको औधोथिकीकरणको मार्ग प्रशस्त गर्दछ ।
एकल केन्द्रिकृत राज्य व्यवस्थाको सट्टामा सबै क्षेत्र, जाति, भाषा, धर्म तथा संस्कृतिको पहिचान सहित जनताको घरदैलोमा सरकारको उपस्थिति हुनेगरि विभिन्न प्रदेश (राज्य) हरुको संयुक्त एकीकृत राष्ट्रियता नै संघिय शासन प्रणाली हो । त्यसैले, नेपालमा रहेका विभिन्न राष्ट्रियताहरुलाई एकीकृत गरी विभिन्न जातजाति, भाषा, धर्म तथा संस्कृतिको सम्मान सहितको एकीकृत राष्ट्रियता निर्माण नै विकेन्द्रीकरणबाट माथि उठेर निर्माण गरिएको लोकतान्त्रिक गणतन्त्रात्मक संघिय शासन प्रणाली हुन सक्दछ भन्ने मर्मलाई पक्रेर मात्र संघियतामा उपयुक्त शिक्षा नीति तय गर्न सकिनेछ ।
समाजवादी शिक्षाको आधारहरु तयार गर्ने शिक्षा नै वास्तवमा समाजवाद उन्मुख शिक्षा हो । शिक्षासँग आधारभूत रुपमा जोडीएका तीन वटा पक्षहरु (क) सहज पहुँच सहितको सर्वशुलभ शिक्षा (ख) विभेदरहित शिक्षा र (ग) रोजगारमूलक तथा श्रमप्रति आस्थावान शिक्षालाई समाजवाद उन्मुख शिक्षाका आधारहरु मान्न सकिन्छ ।
(क) सहज पहुँच सहितको सर्वशुलभ शिक्षा
विद्यालयीय उमेरका बालबालिकाहरुको विद्यालयसम्मको सहज पहुँच तथा माध्यमिक शिक्षासम्म अनिवार्य र निःशुल्क शिक्षालाई वास्तविक व्यवहारमै निःशुल्क वनाइनु जरुरी छ । यसका लागि राज्यले शिक्षाको सम्पूर्ण लायित्व वहन गर्नु पर्दछ । सहज पहुँच र सर्वशुलभ शिक्षाका लागि निम्न कुराहरुमा ध्यान दिनु पर्दछ :
१,उपयुक्त नक्साङ्कनका आधारमा विद्यालयहरुको स्थापना ।
२,व्यवस्थित खुला र दुर सिकाइ पद्धतीको विकास र गुणस्तरको प्रत्याभूती ।
३,कक्षा १२ सम्मको अनिवार्य र निःशुल्क शिक्षा ।
४,शिक्षाबाट विमुख भएका बालबालिकाहरुलाई शिक्षाको पहुँच भित्र ल्याउन विशेष कार्ययोजना ।
,विश्वविद्यालयको शिक्षामा सहज पहुँच र कम खर्चिलो ।
६,शिक्षामा प्रयाप्त बजेट विनियोजनका साथ राज्यले शिक्षाको दायित्ववहन ।

(ख) विभेदरहित शिक्षा
विश्वका कतिपय विकसित पुँजीवादी अर्थ व्यवस्था भएका देशहरुमा पनि राज्य भित्रका सबै बालबालिकाहरुलाई दिने शिक्षामा कुनै विभेद छैन । हाम्रो देश शिक्षामा गरीएको निजीकरणले शिक्षालाई दुई प्रकारको मात्रै बनाएन बरु सामुदायिक शिक्षालाई कमजोर पार्दै लगेको छ । सामुदायिक शिक्षाको गुणस्तर वृद्घिका लागि यसका सरोकारवालाहरु शिक्षक, विद्यार्थी, विद्यालय प्रशासन, अभिभावक तथा राज्यको तर्फबाट जिम्मेवारीपूर्वक प्रयत्न गर्नुपर्ने देखिन्छ भने शिक्षामा भएको विभेदको अन्त्यका लागि सामुदायिक विद्यालयको गुणस्तर वृद्धि र शिक्षाको निजीकरणका अन्त्य आवश्यक छ । नीजिकरणको अन्त्यको लागि निम्नानुसारको कार्ययोजना बनाउनु उपयुक्त हुन सक्दछ ः
१,सम्भव भएसम्मका शैक्षिक संस्थाहरुलाई सहकारीकरण गर्ने ।
२,नेपालमा भएका सबै संस्थागत विद्यालयहरुको लगानी, शिक्षक, कर्मचारी तथा भौतिक संरचनाको सही तथ्याङ्क तयार गर्ने ।
३,कालो धनलाई सेतो बनाउन खोलिएका, राष्ट्रिय पुँजी लगानी गरीएका र सेवा मुखी अभिप्राय भएका विद्यालयहरुको वर्गीकरण गर्ने ।
४,१३–१४ वर्षको आवधिक योजना सहित नीजिकरणको अन्त्यको घोषाण गरी वार्षिक रुपमा क्रमशः नर्सरीबाट प्रति कक्षालाई सरकारीकरण गर्दै लैजाने ।
५,नीजि शैक्षिक संस्थाहरुले लिएको अवैधानिक शुल्कको जोड र भौतिक संरचनाका लागि लिईएको शुल्कको जोडलाई समग्र लगानीबाट घटाउने र किस्तावन्दी भुक्तानीको कार्ययोजना बनाउने ।
६,नीजि शैक्षिक संस्थामा लगानी गर्ने लगानीकर्तालाई अन्य क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्दै जाने र निश्चित अवधिका लागि कर कम गर्ने । यसरी शिक्षा क्षेत्रको निजीकरण अन्त्य गर्न सकिन्छ ।

(ग) रोजगारमूलक तथा श्रमप्रति आस्थावान शिक्षा
वैज्ञानिक समाजवादका आधारभूत मान्यताहरुलाई पक्रदै नेपाली विशिष्टतामा केन्द्रिय स्तर र स्थानीय स्तरमा पाठ्यक्रम विकास गरी शिक्षा क्षेत्रमा व्यापक परिवर्तन गर्नु पर्ने आवश्यकता छ । निर्माण तथा उत्पादनमूलक उद्योग भन्दा सेवा उद्योगको व्यापक विस्तार, प्राविधिको तिव्र विकासले उत्पादनका साधन र सम्बन्धको पुनःपरिभाषा गर्नु गर्ने नयाँ परिवेश को सिर्जना भएको छ । यो परिस्थितीलाई मध्यनजर गर्दै नेपाली मौलिकतामा तय गरीने पाठयक्रममा निम्नानुसारका तत्वहरुलाई जोड्न सकेमा रोजगारमूलक र श्रमप्रति आस्थावान शिक्षाको आधार तयार गर्न सकिन्छ –
१,पाठ्यक्रममा रहेका सामन्तवादका सम्पूर्ण अवशेषहरुको अन्त्य ।
२,वैज्ञानिक रोजगारमूलक व्यवहारिक र नवीन उपयोगी शिक्षा ।
३,शिक्षामा भइरहेको विदेशी लगानी नेपालको आफ्नै नीति र नियन्त्रणमा खर्च गर्ने व्यवस्था ।
४,विद्यालय शिक्षामा प्राविधिक तथा वहुप्राविधिक धारलाई मजबुदीकरण ।
५,सबै प्रदेशहरुको वस्तुगत सापेक्षतामा साझा शैक्षिक पाठ्यक्रम लागु गर्दै स्थानीय पाठ्यक्रमको समावेशीकरण ।
६,प्रदेशहरुले आफ्नो सापेक्षतामा स्थानीय स्तरमा प्राविधिक शिक्षाका पाठ्यक्रम, पाठ्यसामाग्रीको निर्माण ।
७,प्राविधिकबाट प्राज्ञिक र प्राज्ञिकबाट प्राविधिक शिक्षा पाठ्न व्रिजको व्यवस्था ।
८,निर्माण र सेवा उद्योग संचालनका लागि आवश्यक सीप र क्षमता विकास गर्ने पाठ्यक्रम ।
९,विश्वविद्यालय शिक्षालाई अनुसन्धानमूलक बनाउन प्रयोगात्मकका लागि विश्वविद्यालयहरुले उद्योग चलाउने वा उद्योगसँग सम्बन्ध लिनुपर्ने नीतिगत व्यवस्था ।
१०,एक विश्वविद्यालय न्यूुनतम एक उद्योगको नीति अख्तियार गर्ने आदि ।
माथि छलफल गरिएको आधारमा थप घनिभुत वहस र विश्लेषण सहित समाजवादी शिक्षाको आधार निर्माणका लागि तय गरीने समाजवाद उन्मुख शिक्षाको अन्तरवस्तु तयार गर्न सकिन्छ ।
लेखक एकीकृत अखिल नेपाल शिक्षक संगठन, (एअनेशिस) चितवनका सचिव हुन् ।