फुड फेष्टिवलको तयारी तीब्र,सौराहामा पर्यटकलाई १५ प्रतिशत छुट

सौराहा ११ माघ । पर्यटन आगमन बृद्धिका लागि सौराहामा हुने माघ २८ गतेबाट सुरु हुने १२ औं सौराहा फूड फेष्टिवलको तयारी सुरु गरिएको छ । फेष्टिवललाई भब्य र सभ्य बनाउन व्यवसायीहरुले तयारी सुरु गरेका हुन । सौराहा रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल(क्षेत्रीय रेवान) सौराहाको आयोजनामा सौराहा नजिक रहेको सिसुवार चौरमा फुड फेष्टिवल हुदैछ । आयोजक क्षेत्रीय रेवानले विहीवार सौराहामा पत्रकार सम्मेलनको आयोजना गरी फेष्टिवलको अन्तरिक तयारी सुरु भईसकेको र स्टल निर्माणको काम केही दिनमा सुरु गर्ने जानकारी दिएको छ । प्रेम दिवस मनाउन सौराहा आउने युवायुवतीलाई केन्द्रीत गरी रेवानले प्रेम दिवसको अवसर पारेर सौराहा फुड फेष्टिबलको आयोजना गर्दै आएको छ । फेष्टिवल सम्पन्न गर्न मुल समिति र २५ वटा उप समिति गठन गरी तयारीको काम सुरु गरिएको क्षेत्रीय रेवान सौराहाका अध्यक्ष गोर्कण गिरीले बताए । फागुन ३ गते सम्म चल्ने सो फेष्टिवलमा व्यवसायीहरुले खाना र आवासमा १५ प्रतिशत छुट, साना पर्यटन व्यवसायी समूहसँग सहकार्य गरेर व्यवसायीहरुले सामान खरिदमा ३० प्रतिशत छुटको व्यवस्था मिलाईएको अध्यक्ष गिरीले बताए । फेष्टिबलमा ५० वटा खाना र १० वटा अन्य गरी ६० वटा स्टलहरु रहने फेष्टिवलका संयोजक कपिल रेग्मीले जानकारी दिए । फेष्टिवलमा थारु,नेवारीसंगै स्वादेशी तथा विदेशी खानाका परिकारहरु रहने उनले बताए । थारू संस्कृतिको संरक्षणको लागि फेष्टिबलमा परम्परागत थारू समुदायका खाना र सांस्कृति नृत्य प्रस्तुत गरिने उनले बताए । पाँच दिनसम्म चल्ने सो फेष्टिबलमा विभिन्न मनोरञ्जनात्मक खेलकुद प्रतियोगितासमेत गरिने छ । फेष्टिबलमा रेष्टुरेण्ट कर्मचारीबीच वेटर रेस, प्रेमपत्र लेखन, तेक्वान्दो, महिलाहरु बीच म्युजिकल चियर,उत्कृष्ट खाना,घैला रंग्याउने र बालबालिकाबीच बेलुन फुटाउने प्रतियोगिता रेवानका प्रथम उपाध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए । सो फेष्टिवलको करिब २ लाख दर्शकले अबलोन गर्ने आयोजकले अपेक्षा गरेको छ । फेष्टिबलबाट भएको आम्दानीबाट घुम्ती सौचालय निर्माण, राप्ती नदी संरक्षण, होली पर्व, उज्यालो सौराहा,बालश्रम न्यूनीकरण, सडक बालबालिका पुनस्थापनामा सहयोग गरिने खतिवडाले जानकारी दिए । फेष्टिवलमा खानाका परिकारसगौ चर्चीत राष्ट्रिय गायक गायिकाहरुको बेजोड प्रस्तुति रहने कलाकारहरु सास्कृतिक प्रस्तुती थप आर्कषणको केन्द्र रहेको सास्कृतिक उपसमितिका संयोजक नविन नेपालले जानकारी दिए । रत्ननगर नगर कार्यपालिकामा मेयर नारायण वनले फुड फेष्टिवल सम्पन्न गर्न नगरपालिकाको पूर्ण साथ र सहयोग रहने बताए ।