निर्वाचन आचारसंहिता भोलिदेखि

काठमाडौं, ११ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि भोली(शुक्रबार)बाट निर्वाचन आचारसंहिता लागू हुने जनाएको छ । आयोगले आज एक सूचना जारी गर्दै स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्न माघ १२ गतेबाट निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको जनाएको हो ।
निर्वाचन आचारसंहिता विभिन्न व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेछ । आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र स्थानीय तह, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरीका कार्यालय तथा सुरक्षाकर्मीलाई लागू हुनेछ ।