हिमाली र पहाडी जिल्लामा हिमपात, जनजीवन कष्टकर

 

आशिष मल्ल

डडेल्धुरा,  १० माघ । । डडेल्धुरा लगायत प्रदेश नम्बर सातका पहाडी जिल्लाहरुमा मंगलबार रातिदेखि हिमपात शुरु भएको छ ।

डडेल्धुरा सहित सात नम्बर प्रदेशका विभिन्न पहाडी जिल्लामा हिमपातका कारण अत्याधिक चिसो समेत बढेको छ । पहाडी जिल्ला बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुला लगायतका जिल्लाका उच्च लेकाली भेगमा हिमपात शुरु भएसँगै चिसो बढेको हो ।

मंगलबार रातिबाट पानी परेसँगै आज बिहानदेखि हिमपात शुरु भएको हो । डडेल्धुरा सदरमुकाममा आज बिहान ५ बजेदेखि हिमपात भएको छ । उच्च हिमाली भागमा रातिदेखि नै हिमपात भएको हो । भिमदत्त राजमार्गको साहुखर्क, हगुल्टे, गैरा लगायतका क्षेत्रमा भारी हिमपात पछि सवारी साधन सञ्चालनमा कठिनाई आएको छ ।

हिउँ जमेको र चिसो बढ्न थालेकाले घरबाहिरको काम गर्न समस्या भएको स्थानीयले बताएका छन् । चिसो बढेका कारण वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित भएका छन् ।

लामो समयसम्म वर्षा नहुँदा हिउँदे बाली बिग्रने चिन्तामा परेका पहाडी भेगका किसानलाई भने हिमपातले धेरै राहत पुर्याएको छ । हिउँ जम्न थालेका कारण दैनिक जनजीवन कष्टकर बन्दै गएको छ । बाक्लो हिउँ परेसँगै यहाँका गाउँघर सेताम्य बनेपछि किसानहरु भने खुसी भएका छन् ।