चितवनमा क्यान इन्फो–टेकको तेस्रो संस्करण माघ २५ बाट

 

चितवन, ९ माघ  । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) चितवन शाखाले सूचना प्रविधिसम्बन्धी मेला माघ २५ देखि आयोजना गर्ने भएको छ।

‘तेस्रो डिजिकम क्यान इन्फो–टेक २०७४’ भरतपुरमा निर्माणाधीन एक्स्पो सेन्टरमा माघ २९ गतेसम्म चल्ने मंगलबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो।मेलाको तयारी तीव्र पारिएको मेला संयोजक एवं आयोजक संस्थाका अध्यक्ष भानु शर्माले बताए।

मेलामा कम्प्युटर, ल्यापटप, मोबाइल, प्रिन्टर, सिसी क्यामेरा लगायत सबैखालका सूचना र प्रविधिसँग सम्बन्धित स्टलहरू रहने उनले जानकारी दिए।

मेला संयोजक शर्माका अनुसार, मेलामा कम्प्युटर हार्डवेयर, सफ्टवेयर, सुरक्षा सम्बन्धी सामग्री, मोबाइल, टिभी, उच्च शिक्षा सम्बन्धी सेवा प्रदान गर्ने कलेज एवम् परामर्शदाताहरूका स्टलहरू रहनेछन्। मेलाबाटै आवश्यक सूचना प्रविधिसम्बन्धी सामान खरिद गर्न पाइने व्यवस्था समेत मिलाइएको उनले बताए।

मेलामा कम्पुटर, ल्यापटप, प्रिन्टर, मोवाइल, सिसी क्यामेरा, इन्टरनेट, सफ्टवेयर आदिको खरिदमा विशेष छुटको व्यवस्था गरिएको संस्थाका सचिव सन्तोषजनक भुसालले जानकारी दिए।

‘चितवनको समृद्धि, सूचना प्रविधि’ भन्ने मूल नारासहित गर्न लागिएको सो मेलामा ८० वटा स्टल रहने आयोजकले जनाएको छ। ५ दिनसम्म चल्ने मेला सम्पन्न गर्न करिब ७१ लाखभन्दा बढी खर्च हुने अनुमान गरिएको छ।

मेला अवलोकन गर्न ५० रूपैयाँ प्रवेश टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

Promise Education Consultancy