आफ्नै खर्चमा गाउँभरी धारा

चितवन,९ माघ। सफा पानी खानका लागि भरतपुर महानगरपालिका वडा नं. १६ मंगलपुर विजयनगरका बासिन्दाले आफ्नै सक्रियतामा आयोजना सम्पन्न गरेका छन् ।
एक वर्ष नपुग्दै १३९ घरका लागि खानेपानी आयोजना सम्पन्न भएको हो । भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाहको प्रमुख आतिथ्यमा बिहीबार आयोजनाको विधिवत उद्घाटन भयो । विजयनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गठन गरेर अघिल्लो वर्षको माघ १५ गतेदेखि काम सुरू भएको थियो । समितिका अध्यक्ष धनकाजी गुरुङ चयन भएका थिए । उनको अध्यक्षतामा बिहीबार भएको कार्यक्रममा आयोजनाको कूल खर्च ३० लाख ७३ हजार ३१० रुपैयाँ रहेको जानकारी गराइयो । जुन गाउँले आफैले उठाएका हुन् ।
‘प्रति घर २२ हजार रुपैयाँका दरले नगद नै संकलन गरेका हौं । त्यस्तै सबैले तीन हजार रुपैयाँ बराबरको श्रमदान गरेका छन् । यसरी गाउँमा आफ्नै खर्चमा खानेपानी योजना सम्पन्न भएको हो’ आयोजनाका सदस्य पवन वास्तोलाले भने । नगद स्थानीयले नै जुटाए पनि प्राविधिक सहयोग खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भरतपुरले गरेको वास्तोलाले बताए ।
डिभिजन कार्यालयबाट प्रतिनिधिका रुपमा कार्यक्रममा सहभागी सुभद्रा सुवेदीले आयोजनाको पानी गुणस्तरका हिसाबले उत्कृष्ट भएको बताइन् । यसअघि गाउँमा घर घरमा ट्युबेल नभएका हैनन् । तर, पानी चुनासहितको आउने गर्दथ्यो । ‘त्यस्तो पानी खाँदा पत्थरी हुन्छ कि भन्ने डर सधै रहने । पाहुना आए बोतलको पानी किनेर खुवाउनुपर्ने बाध्यता पनि सुरू भएको थियो’ वास्तोलाले भने ।
त्यसैले गाउँलेहरु मिलेर आफ्नै खर्चमा खानेपानी आयाजना सुरू गरेको उनले बताए । ८२ मिटर तलबाट डिप बोरिङ गरेर पानी निकालेको बास्तोलाले बताए । सबै १३९ घरमा नै एक एकवटा धारो पुगेको छ । पानी उपयोग गरे वापत निश्चित शुल्क पनि बुझाउनु पर्छ । शुल्क भने केही समयपछि नै तयगर्ने योजना रहेको आयोजनाका अधिकारीहरुले बताए ।
‘आयोजनाको रेखदेख र मर्मतका लागि कर्मचारी राख्नुपर्छ । त्यसैले केही महशुल त लिनुपर्ने हुन्छ । के कति लिने हो समितिको बैठकबाट निर्णय हुने छ । हामी उपभोक्तालाई मर्का पार्ने पक्षमा छैनौं । सुलभ शुल्कमा नै पानी खान पाउने व्यवस्था हुने छ’ वास्तोलाले भने ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि उपमेयर पार्वती शाहले महानगरले स्वच्छ खानेपानीको प्रवन्ध गर्न हर सम्भव प्रयासहरु गर्दै आएको बताए । स्थानीयले जागरुक भएर गर्न योजनाहरुले अरुलाई पनि प्रेरणा मिल्ने उनको भनाइ थियो । अर्का अतिथि डा होम बस्नेतले स्थानीय आफैले पर्यत्न गर्दा कष्टबाट मुक्त पाइने उदाहरण विजयनगरवासीले पेस गरेको बताए ।आजको चितवन पोष्टमा खबर छ ।

 

Promise Education Consultancy