मुग्लिन–नारायणगढ सडक विस्तार ३३ महिनामा ७१ प्रतिशत मात्र काम

काठमाडौँ, ९ माघ । उपत्यका प्रवेशको लाइफलाइन मुग्लिन-नारायणगढ सडक विस्तारको काम निर्धारित समयमा पूरा नभएपछि चौथो पटक समय थप्नुपर्ने भएको छ। यो सडक विस्तारको काम हाल ७१ प्रतिशत मात्रै पूरा भएकाले अझै एक पटक सयम थप्नुपर्ने भएको हो। आजको अन्नपूर्णपोष्टमा खबर छ । आगामी फेब्रुअरीमा चौथो पटक समय थपेर बाँकी काम गराउने तयारी सडक विभागले गरिरहेको छ।

साढे दुई वर्षभित्रै विस्तारको काम पूरा गर्न ३३ महिना अगाडि सम्झौता भएको थियो। सडक निर्माणको ठेक्का लागेका दुई महिनामै (२०७२ वैशाखमा) गएको भूकम्प, सोही वर्षमा भएको नाकाबन्दी, निर्माण सामग्रीको अभाव, अन्तरनिकाय समन्वय अभाव, प्रतिकूल मौसमलगायत कारण समयमा काम पूरा हुन सकेको छैन। तीन पटकसम्म समय थप भइसकेको छ। समयमानै काम सम्पन्न हुन नसकेको र तोकिएको समयमा सन्तोषजनक काम नभइ दोस्रो पटक समय थप हुँदा दुई वटा ठेकेदारले ७५ लाख हर्जाना तिर्नुपरेको थियो।

तीन वटा ठेकेदार कम्पनीमार्फत विभिन्न तीन खण्डमा सडक विस्तारको काम भइरहको छ। यो आयोजनाको आगामी फेब्रुअरी २० बाट सम्झौता अवधि सकिँदै छ। तीन पटकको सम्झौता सकिएका कारण सडक विभागले अगामी वैशाखभित्र काम सक्ने गरी चौथोपटक म्याद थप गर्ने तयारी गरिरहेको मुग्लिन-नारायणगढ सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए।

दुई वर्षको आयोजना भए पनि समयमा नै काम हुन सकेको र मनासिव कारण भएकाले तीन पटक समय थप भइसकेको छ। सडक विस्तार पूरा गर्न अब चौथोपटक समय थप गर्नुको विकल्प नभएको उनले बताए। थपिएको समय कम्तीमा दुई महिनाको हुनेछ। दुईदेखि ६ महिना समय थप गरेर आगामी वैशाखपभत्रै यो सडक विस्तार पूरा गराउने अपेच्छा सडक विभागको छ।

यो सडक विस्तार गर्न पहिलोपटक १५ महिनादेखि साढे दुई वर्षभित्रै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य थियो। निर्धारित समय सकिएपछि सडक विभागले ८/८ महिना गरेर तीन पटक समय थप भइसकेको छ।

१३ गतेदेखि दिउँसो गाडी बन्द

यही माघ १३ गते शनिबारदेखि यो सडक बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म बन्द हुने भएको छ। यो सडक विस्तारको निम्ति भित्तो कटिङ गर्नुपर्ने भएकाले सवारी रोकेरै काम गर्न लागिएको हो। यसअघि राति सवारी रोकेर काम गर्ने गरिएको थियो। रातको समयमा प्रभावकारी काम गर्न नसकिएकोले अब दिउँसै सवारी रोकेर काम गर्नुपर्ने भएको आयोजनाका सूचना अधिकारी खनालले जानकारी दिए।

यो सडक विस्तारमा अझै आठ सय मिटर बाँकी छ। १६ किलो भन्ने स्थानमा तीन सय मिटर, घुमाउनेमा दुई सय मिटर र चेपाङ डाँडामा तीन सय मिटर कटिङ गर्ने बाँकी छ। सडक कालोपत्रे गर्न पनि सवारी रोकेरै गर्दा छिटो र गुणस्तरीय हुने भएकोले पनि बाध्य भएर दिउँसो बन्द गर्नुपरेको आयोजनाले बताएको छ।