आफ्नो तलब निर्वाचन क्षेत्रका वडामा खर्च गर्ने प्रदेश सांसद दवाडीको घोषणा

गोरखा, ८ माघ । गोरखाको निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा क्षेत्र )ख)बाट विजयी भएका सांसद तथा नेपाली काँग्रेसका नेता प्रकाशचन्द्र दवाडीले प्रदेशले उपलब्ध गराउने पारिश्रमिक निर्वाचन क्षेत्रभित्र सामाजिक कार्यमा खर्च गर्ने घोषणा गरेका छन् ।

आज गोरखामा पत्रकार सम्मेलन गर्दै सांसद दवाडीले भने, “सांसदलाई राज्यले उपलब्ध गराउने सेवा तथा सुविधा व्यक्तिगत रुपमा प्रयोग गर्दिन । मलाई जिताएर पठाउनुभएका मतदाता र निर्वाचन क्षेत्रमा हुने सामाजिक कार्यमा खर्च गर्ने घोषणा गर्छु ।”

गोरखाको सिरानचोक, अजिरकोट र सुलिकोट गाउँपालिकाबाट दवाडी निर्वाचित भएका थिए । सिरानचोकमा आठवटा, अजिरकोटमा पाँचवटा र सुलिकोटमा आठवटा वडा रहेका छन् । प्रत्येक महिनाको पारिश्रमिक फरकफरक वडामा सामाजिक कार्यमा खर्च गर्न सहयोग गर्ने दवाडीले जानकारी दिए ।

प्रदेश सांसदको सेवा, सुविधा के–कस्तो हुने भन्ने यकिन भइसकेको छैन । “जनताको जीवनस्तर उकास्न सहयोग गर्छु, सामाजिक सेवामा तल्लीन रहन्छु र सधैँ जनताकै सेवामा रहन्छु भन्ने अठोट गर्दै जनतासँग भोट मागेर विजयी भएँ” दवाडीले भने, “आफूले पाउने सेवा सुविधा जनताकै लागि समर्पित गर्ने इच्छा हो ।”

Promise Education Consultancy