राजमार्गमा चल्ने ट्रिपरलाई ‘टाइमकार्ड’

आनन्द पोखरेल
चितवन, ७ माघ । चितवनको मुख्य राजमार्ग भएर चल्ने ट्रिपरको लागि टाइमकार्ड लागू गरिएको छ । पूर्व पश्चिम राजमार्ग हुँदै चल्ने ट्रिपरको लागि भरतपुरको गोन्द्राङदेखि मकवानपुरको मनहरीसम्मको क्षेत्रमा टाइम कार्डको व्यवस्था गरिएको हो ।
तीव्र गतिमा ट्रिपर चलाउँदा दुर्घटना बढेको र सर्वसाधारणमा समेत ट्रिपरबाट त्रास फैलिएको कारण टाइम कार्डको व्यवस्था गरिएको ट्राफिक प्रहरीले जनाएको छ । भरतपुरदेखि मनहरीसम्मको ४० किलो मिटरको दूरीलाई दुई भागमा विभाजन गरेर टाइमकार्डको व्यवस्था गरिएको हो ।
गोन्द्राङदेखि भण्डारासम्मको २० किलोमिटरको दुरी पार गर्नको लागि ४५ मिनेट समय राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए । त्यस्तै, भण्डारादेखि मनहरीसम्मको २० किलोमिटरको दूरी पार गर्नको लागि ३५ मिनेटको समय राखिएको पन्तले बताए । गोन्द्राङदेखि भण्डारासम्म बस्ती बढी भएकोले ३० किलोमिटर प्रतिघण्टाको गति राखिएको र मानव बस्ती कम भएको भण्डारादेखि मनहरीसम्मको क्षेत्रमा ३५ किलोमिटर प्रतिघण्टाको गति राखिएको छ ।
टाइमकार्ड लागू गरिएपछि दुर्घटना घट्ने प्रहरीले अनुमान गरेको छ । चालु आर्थिक वर्ष २०७४÷०७५ मा एक सय १५ वटा दुर्घटना भएकोमा ट्रिपरका कारण ३० वटा दुर्घटना भएका थिए । ट्रिपर व्यवसायी समितिको सहकार्यमा टाइमकार्ड लागू गरिएकोले टाइमकार्डको पालना नगर्ने ट्रिपर चालकलाई कारबाही गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Promise Education Consultancy