पर्साको छपकैयामा भारतले नेपाली भूमि यसरि मिच्यो (हेर्नुहोस रहस्य यस्तो छ )

काठमाडौं, माघ ७ । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पर्साको छपकैयामा ५० विघाभन्दा बढि नेपाली भूमि भारतले मिचेर सिमा स्तम्भ गाडेको प्रारम्भीक निश्कर्ष निकालेको छ ।

क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङकाे नेतृत्वमा स्थलगत अनुगमन गरेकाे टोलीले भारतले जानाजान नेपाली भूमि मिच्ने मनसायले सीमा स्तभ्म गाडेको पाइएको जनाएको छ ।

क्रान्तिकारीको टोलीले स्थानीय पीडित, नापी विभाग, काठमाण्डौँबाट गएको नापी विभाग सहितको केन्द्रिय अनुगमन टोली, स्थानीय बुद्धिजिवि लगायत सम्बन्धित सबैसँग बिभिन्न चरणमा अन्तरक्रिया गरि यस्तो निश्कर्ष निकालेको हो । अध्यक्ष तामाङ्ले नापी विभागसंग थप छलफल गरेर आज मध्यान्न १२ बजे पत्रकार सम्मेलन गर्न लागिएको जानकारी दिए ।

उनले भने “हामीले यहाँ बिभिन्न चरणमा छलफल गर्यौ, पिलर गाडिएका ठाउँमा गएर अनुगमन गर्यौ, विगतका सन्धी सम्झौताको अध्ययन गर्यौँ । यसबाट हामी निष्कर्षमा पुगेका छौँ भारतले जानाजान नेपाली भूमि मिच्ने मनसायले पिलर गाडेको छ ।”

नेपाल र भारतबीच जोर नम्बरको पिलर भारतले र विजोर नम्बरको पिलर नेपालले गाड्ने सहमति भएको थियो । आफ्नो जिम्मेवारी अनुसार नेपालले जंगे पिलर १९१ र त्यसका साहायक पिलर गाडिसकेको र त्यसमा धेरै विवाद नरेहेको पाइएको अध्यक्ष तामाङ्ले बताए । तर, भारतले आफ्नो जिम्मेवारी अनुसार १९२ को मेन जंगे पिलर कहाँ राख्नेसम्म निर्क्योल नगरिकन सहायक पिलर गाडेको र त्यसमा धेरै विवाद रहेको उनले बताए ।

१९२ अन्तरगतका सहायक पिलर गाड्ने क्रममा ५० विघाभन्दा बढि नेपाली भूमि मिचिएको तर, मेन पिलर कहाँ राख्ने सम्म निधो नहुँदा पनि नेपाली पक्ष चुप बसेको र आफ्नो जग्गाधनी पुर्जा भएको भूमि नै भारतमा परे पनि स्थानीयले विराेध गरेपछि मात्रै सरोकारवालाहरुले ध्यान दिए जस्तो गरेको पाइएको पनि उनले बताए ।

अखिल क्रान्तिकारीको केन्द्रीय टोलीले भारतीय दुतावासको ध्यानाकर्ष गर्ने लगायतका बिषयमा पनि आजको पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने बताए । अध्यक्ष तामाङले भने, ‘छपकैयामा नाङ्गो रुपमा नेपाली अस्मिता र भूमी लुटिएको छ । यसलाई अविलम्ब रोक्न सरकार समक्ष जोडदार माग गर्दछौं।’

स्थलगत निरीक्षण र थप अध्ययन पश्चात् काठमाडौं फर्किएर नेपाल सरकारसहितका सबै सरोकारवालाहरुलाई खबरदारी गर्ने र सीमा अतिक्रमण विरुद्ध भारत सरकारको ध्यानाकर्ष गर्ने कार्य गरिनेछ ।