गैंडा तस्कर विरूद्ध सीआइबीका १९ अप्रेशन, ७ वर्षमा ५२ तस्करलाई कारबाही सिफारिस

 

 

नारायण अधिकारी

काठमाडौं, ७ माघ । प्रहरीको केन्द्रीय अनसुन्धान ब्यूरो सिआइबीले अहिलेसम्म ५२ जना गैंडा तस्करलाई कारबाहीका लागि सिफारिस गरेको छ । ७ वर्षको अवधिमा गैंडाको शिकार गरी खाग, छाला र खुरको बेचविखन गर्ने ५२ जना पक्राउ गरी कारबाहीका लागि सिफारिस गरिएको सीआइबीले जनाएको छ ।

२०६७ मा सिआइबी स्थापना भएपछि गैंडा तस्करी रोक्न विशेष अप्रेशन सुरू गरेको थियो । सिआइबीले अहिलेसम्म गैंडा तस्करीविरूद्ध १९ वटा अप्रेशन गरेको छ । जसमा ५२ जना तस्कर पक्राउ परेको सिआइबीको वन्यजन्तु चोरी शिकारीको अपराध हेर्ने डिएसपी अनुपम राणाले बताए ।

सिआइबी स्थापना भएको वर्ष २५ चैत २०६७ मा काठमाडौंको जोरपाटीबाट १२ वटा गैंडाको खुरसहित दुई जना पक्राउ परेका थिए । त्यसको एक हप्ता पनि नबित्दै सिआइबीले ललितपुरबाट एउटा गैंडाको खागसहित चार जनालाई पक्राउ गरेको थियो ।

२०६८ मा दुई वटा गैंडाको खागसहित एक महिला र १३ पुरूष तस्कर पक्राउ गरियो । २०६९ मा सिआइबीले गैंडा चोरी शिकारीबिरूद्ध चार वटा अप्रेशन गरेको थियो । जसमा एक महिलासहित १२ जना ४ वटा खागसहित पक्राउ परेका थिए । उनीहरूले सिआइबीले काठमाडौं, पोखरा, इटहरी र चितवनबाट पक्राउ गरेको थियो ।

२०७० मा दुई वटा गैंडाको खागसहित दुई जना र २०७१ मा दुई वटा गैंडाको खागसहित ६ जना पक्राउ परेका थिए । यस वर्ष गैंडाको शिकार कम हुनुका साथै सिआइबीले कुख्यात गैंडा तस्कर राजकुमार प्रजालाई पक्राउ गरेर ठूलो सफलता हात पारेको थियो । प्रजालाई २०७१ माघ २५ गते मलेसियन प्रहरीको प्रजा पक्राउ परेसँगै गैंडा तस्करीमा धेरै कमी आएको अनुपम राणाले बताए ।

प्रहरीको तथ्यांकले पनि प्रजा पक्राउ परिसकेपछि गैडाको तस्करीमा कम भएको देखाउँछ । प्रजा पक्राउ परेयता चार वटा गैंडाको खाग र पाँच किलो हाराहारीमा छाला बरामद भएका छन् । त्यस्तै २०७२ मा ६ जना र २०७३ मा ६ जना गरी ११ जना पक्राउ पनि परेका छन् । त्यस्तै २०७४ मा पनि सिआइबीले ४ वटा गैंडाको खाग जस्तै देखिने अखेटोपहार बरामद गरेको छ । खाग जस्तो देखिएपनि अन्य जन्तुको हाड हुन सक्ने प्रहरीले जनाएको छ । अहिलेसम्म पक्राउ परेका ५२ जना मध्ये चार जना महिला छन् । उनीहरूबाट प्रहरीले १५ वटा गैंडाको खाग, १३ वटा खुर र दुई वटा छाला बरामद गरेको छ ।

१ सय ७७ वटा गैंडा मारिए
सिआइबीको तथ्यांकअनुसार नेपालमा २०५५/०५६ सालतिरबाट गैंडा शिकार गर्न एउटा समूह नै सक्रिय छ । यसअघि फाट्टफुट्ट गैंडाको शिकार भएपनि ठूलो मात्रामा तस्करी नभएको सिआइबीको डिआइजी पुस्कर कार्की बताउँछन् ।

तर २०५५/०५६ देखि भने अन्तर्राष्ट्रिय गिरोहको मागअनुसार गैंडाको शिकार हुँदै आएको उनको बुझाई छ । त्यसयता तस्करहरूले एक सय ७७ वटा गैंडा मारिसकेको सीआइबीको तथ्यांकमा छ । मारिएका सबै गैंडा नेपालका मात्रै नभएर भारतको पनि रहेको प्रहरीले जनाएको छ । भारतमा गैंडा तस्कर गरी नेपाललाई ट्रान्जिट बनाएर तस्कर हुने भएकाले नेपालमा पक्राउ पर्ने बित्तिकै नेपालको गैंडा भन्न नमिल्ने डिआइजी कार्कीले बताए ।

कहाँ पुर्याइन्छ खाग ?
प्रहरीको अहिलेसम्मको अनुसन्धानलाई हेर्दा गैंडाको खागको अन्तिम गन्तव्य चीन हो । गैंडाको सिकारमा स्थानीय बासिन्दाको प्रयोग गरिन्छ भने काठमाडौंसम्म ल्याउने जिम्मा अर्कैैको हुन्छ ।

यसरी काठमाडौं आइपुगेका गैंडाका खागलगायत वन्यजन्तुको धेरैजसो अखेटापहारको गन्तव्य चीन रहेको डिएसपी राणाले बताए । चीनमा गैंडाको खागबाट पुरानो औषधि बनाउने गरिन्छ । भियतनाममा समेत प्राचिन औषधि बनाउन खागको माग रहेपनि नेपालको खागको मुख्य बजार चीन नै भएको उनको भनाइ छ ।

Promise Education Consultancy