मधेसी रिझाउँदै कांग्रेस

काठमाडौँ, ७ माघ । राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, संघीय समाजवादी फोरम र राजपाबीच तालमेल हुने भएको छ । उम्मेदवारी मनोनयनअघि नै तालमेलको टुंगो लगाउने गरी तीनै दल शनिबारबाटै गृहकार्यमा जुटेका छन् । माघ २४ गते हुने निर्वाचनका लागि बुधबार उम्मेदवार मनोनयनको कार्यक्रम रहेकाले सोमबारसम्म उम्मेदवारी टुंगो लगाउने तयारी रहेको कांग्रेस नेताहरूले बताएका छन् । बालुवाटारमा शनिबार बसेको तीन दल बैठकमा कांग्रेस नेता डा. मीनेन्द्र रिजालले ५६ सिटका लागि हुने निर्वाचनमा वाम गठबन्धन ४२, कांग्रेस १० र फोरम-राजपाले ४ सिट जित्ने तथ्यांक प्रस्तुत गरेका थिए ।आजको अन्नपूर्णपोष्टमा खबर छ ।

उनले चुनावी रणनीतिलाई बुद्धिमत्तापूर्ण रूपमा प्रयोग गरिए प्रदेश ३ मा कांग्रेसले विवेकशील र राप्रपासँग तालमेलबाट दुई सिट थप्न सक्ने र प्रदेश २ मा फोरम-राजपालाई एक सिट बढी आउने तथ्यांक देखाएका थिए । फोरम-राजपाका प्रतिनिधिले भने आफूहरूले स्वतः जित्ने चार सिटका लागि तालमेल आवश्यक नभएकाले पाँच सिटमा मात्र तालमेल गर्नसक्ने अडान राखेका थिए ।

चुनावी सहकार्यका विषयमा भएको छलफलले सोमबारसम्म अन्तिम रूप पाउने कांग्रेस नेता आनन्दप्रसाद ढुंगानाले बताए । राष्ट्रियसभा निर्वाचन र प्रदेश सरकार गठनलगायत विषयमा तीन दलबीच प्रारम्भिक कुराकानी भएको उनले जानकारी दिए । ‘प्रदेश २ र अन्य प्रदेशमा के-कसो गर्ने भन्ने अनुमानित तथ्यांकमा गृहकार्य अघि बढेको हो । आइतबार एजेन्डागत रूपमा छलफल हुनेछ’, उनले भने।

मिलेर चुनाव लड्दा प्रदेश २ मा धेरै सिट हासिल गर्न सकिने निष्कर्षसहित आइतबार निर्णायक वार्ता गर्न लागिएको फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । ‘मुलुकको विद्यमान राजनीतिक र राष्ट्रियसभा चुनावको विषयमा सामान्य छलफल भए पनि टुंगो लागेको छैन । आ-आफ्नो दलमा परामर्श गरी आइतबार पुनः बस्ने निर्णय भएको छ’, श्रेष्ठले भने । राजपा महासचिव केशव झाले बैठक सकारात्मक भएको टिप्पणी गरे । ‘राष्ट्रियसभामा मधेसी र कांग्रेसबीच चुनावी एकता निकट छ’, उनले भने ।

Promise Education Consultancy