चित्रवन विहारको स्वर्ण महोत्सव सुरु

चितवन, ०६ माघ । नारायणगढको नारायणी नदी किनारमा रहेको चित्रवन विहार संघले विविध कार्यक्रम गर्दै आफ्नो स्वर्ण जयन्ति महोत्सव मनाइरहेको छ । शनिबारदेखि आयोजना भएको स्वर्ण जयन्ति महोत्सवको कार्यक्रम सोमबारसम्म हुनेछ ।
चित्रवन विहार संघले शनिबार बिहान प्रभातफेरि गरि सुरु गरेको स्वर्ण जयन्ति महोत्सव माघ ८ गते प्रवचन पछि समापन हुनेछ । स्वर्ण महोत्सवको अवसरमा शनिबार बिहान बुद्ध पूजा, शान्ति ¥याली र स्वर्ण महोत्सवको उद्घाटन गरिएको छ । त्यस्तै, आइतबार बुद्ध पूजा, बौद्ध परिक्रमा, महापरित्राण तथा सोमबार बुद्ध पूजा, प्रवचन र स्वर्ण महोत्सव समापन हुने चित्रवन विहार संघका निवर्तमान अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले बताए ।
स्वर्ण महोत्सव उद्घाटनका क्रममा प्रमुख अतिथि रहेका अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थावीरले बुद्धको उपदेश मानेर सबैले काम गारेको खण्डमा देशको समृद्धि हुने बताए । सबै कुरा त्यागेर सिद्धार्थ गौतमले ज्ञान प्राप्त गर्दै गौतम बुद्ध बनेकाले उनको उपदेशको सबैले पालना गर्नु देशमा शान्ति स्थापना गर्नु भएको महास्थावीरको भनाइ छ । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले चित्रवन विहार संघले निर्माण गर्न लागेको गेष्ट हाउसले देशको भ्रमण गर्ने भिक्षु भिक्षुणीहरुलाई सहयोग पुग्ने बताए ।
उक्त विहारलाई पर्यटकीय दृष्टिकोणले अगाडि बढाउनु आवश्यक रहेको प्रधानको भनाइ थियो । कार्यक्रममा चित्रवन विहार संघको स्वर्ण जयन्ती स्मारिका समेत विमोचन गरिएको थियो । देश विदेशबाट आएका बौद्ध भिक्षुहरुले मन्तव्य राखेको कार्यक्रममा चित्रवन विहार संघका उपाध्यक्ष स्वयम्भुराज शाक्यले स्वागत मन्तव्य राखेका थिए भने स्वर्ण जयन्ति महोत्सव समारोहका मूल संयोजक रविन्द्रराज बज्राचार्यको अध्यक्षतामा कार्यक्रम भएको थियो ।